काठमाण्डौ । नेपाल बंगलादेश बैंकले चालु आर्थिक वर्षको तेश्रो त्रैमासमा अघिल्लो वर्षको सोही अवधिको तुलनामा खुद नाफातर्फ सामान्य प्रगति गरेको छ । यो बैंकको खच्किएको प्रदर्शनले लगानीकर्ता तथा सेयरधनी भने खिन्न बनेका छन् ।

बैंकले बुधबार प्रकाशित गरेको बित्तीय विवरण अनुसार अघिल्लो आर्थिक वर्षको तेश्रो त्रैमाससम्म ७० करोड ४ लाख रुपैयाँमा सीमित रहेको खुद नाफा वृद्धि भई यो वर्ष ८२ करोड ७६ लाखको उचाईमा पुगेको हो ।

बैंकको संचालन मुनाफातर्फ पनि राम्रो प्रगति भएको छ । अघिल्लो वर्ष ७६ करोड ६३ लाख रुपैयाँ रहेको संचालन नाफा यो वर्ष वृृद्धि भई १ अर्ब १० करोड प’गेको छ ।

यो बैंकले यो अवधिमा पुँजी वृद्धिपछि घट्न पुगेको प्रति सेयर आम्दानीमा रिकभरी गर्न भने सकेन । अघिल्लो वर्षको यो अवधिमा बैंकको वार्षिकीकृत प्रतिसेयर आम्दानी ३० रुपैयाँ ७३ पैसा रहेकोमा यो वर्ष घटेर २० रुपैयाँ १ पैसाको विन्दुमा  झरेको हो । यो बैंकले हालै ३२ प्रतिशत बोनस सेयर वितरण गरेको थियो भने हाल ८० प्रतिशत हकप्रद निश्कासन गरेको छ । बोनस र हकप्रद निश्कासनपछि हुने मुल्य समायोजनपछि प्रति सेयर आम्दानी अझ घट्ने देखिन्छ ।

अघिल्लो वर्ष ९७ करोड १७ लाख रुपैयाँ रहेको खुद ब्याज आम्दानी बढेर यो वर्ष १ अर्ब ९ करोडको उचाईमा पुगेको छ ।

यो अवधिमा बैंकले ३८ अर्ब ५३ करोड निक्षेप संकलन गरी ३७ अर्ब २४ करोड कर्जा परिचालन गरेको छ । अघिल्लो वर्षको यही अवधिमा बैंकले ३५ अर्ब ८३ करोड निक्षेप संकलन गरी ३१ अर्ब ३८ करोड कर्जा परिचालन गरेको थियो ।

१.६३ प्रतिशतमा रहेको यो बैंकको निस्क्रिय कर्जा अनुपात यो वर्ष चाहि १.०१ प्रतिशतको विन्दुमा झरेको हो । यो बैंकको चुक्तापुँजी हाल ५ अर्ब ५१ करोड रुपैयाँ रहेको छ ।