काठमाण्डौ । सिटिजन्स बैंक आर्थिक वर्ष २०७८/७९ को लाभांश पारित गर्ने पहिलो बैंक बनेको छ । 

बैंकको शुक्रबार काठमाण्डौको डिल्लीबजारस्थित अमृतभोगमा बसेको १६ औं वार्षिक साधारणसभाबाट आर्थिक वर्ष २०७८/७९ को वितरणयोग्य मुनाफाबाट २०७९ आषाढ मसान्तको चुक्तापुँजी रु. १४,२००,९७४,००६।– को ९ प्रतिशतका दरले हुन आउने रु. १,२७,८०,८७,६६१ बराबरको नगद लाभांश (लाभांश कर समेत) दिने प्रस्ताव सर्वसम्मतिबाट पारित गरेको हो । योसँगै सिटिजन्स बैंक गत आ.ब.को लाभांश पारित गर्ने पहिलो बैंक बनेको हो । 

बैंकका एक अधिकारीकाअनुसार पारित लाभांश सकेसम्म सबै सेयरधनीलाई तिहारअघि नै उनीहरुको खातामा जम्मा गरिनेछ । यसरी सिटिजन्स बैंकले आफ्ना सेयरधनीलाई तिहारको मुखमा लक्ष्मी भित्र्याउने अवसर समेत सिर्जना गरेको छ । दोश्रो बजार घटेर चौपट भएको बेला तिहार मनाउने खर्च बैंकले दिने भएपछि सिटिजन्सका सेयरधनी साधारणसभामा खुशी देखिएका थिए । 

साधारणसभामा आ.व. २०७८/७९ को संचालक समितिको वार्षिक प्रतिवेदन छलफल गरी पारित गरिएको छ । बैंकको लेखापरीक्षकको प्रतिवेदनसहित २०७९ आषाढ मसान्तको एन.एफ.आर. एस बमोजिम तयार गरिएको वासलात, आ.व. २०७८/७९ को नाफानोक्सानको हिसाव तथा नगद प्रवाह विवरण लगायतका एकीकृत वित्तीय विवरणहरु पनि छलफल गरी पारित गरिएको छ । 

साथै साबिक सिर्जना फाइनान्सलाई प्राप्ति गरेपश्चात साबिक पूँजी संरचना ५१:४९ परिबर्तन भई कायम भएको पूँजी संरचना ५१.०७:४८.९३ (संस्थापक शेयरधनिहरुले धारण गरेको जम्मा शेयर: साधारण शेयरधनीहरुले धारण गरेको जम्मा शेयर) बमोजिम प्रबन्धपत्रमा संसोधन गर्ने प्रस्ताब समेत साधारणसभाले पारित गरेको छ । 

सभाका अध्यक्ष तथा सिटिजन्स बैंकका सञ्चालक समितिका अध्यक्ष राजनसिंह भण्डारीले शेयरधनीहरुबाट प्राप्त सुझाव अनुसार बैंकको काम कार्यबाही सञ्चालन गर्ने र भविष्यमा बैंकले अझ बढी प्रगति हासिल गर्दै जाने विश्वास व्यक्त गरे । 

यसैगरी, संस्थागत सुशासन तथा अनुपालनाको स्तरलाई उच्चतम राख्ने विषयलाई बैंकले सदैव महत्व दिँदै आएको र आगामी दिनहरुमा समग्र बैंकको संस्थागत सुशासन तथा अनुपालनाको अवस्थालाई थप सवल तथा सुदृढ बनाउँदै जानेतर्फ पनि बैंक प्रतिबद्घ रहेको बताए ।