काठमाण्डौ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको मुद्दा आज बिहीबार सुनुवाइ हुने भएको छ।
न्यायाधीश सपना मल्ल प्रधान र टंकबहादुर मोक्तानको इजलासमा गत मंगलबार गभर्नर अधिकारीको मुद्दाको सुनुवाइ सुरु भएको थियो। मंगलबार समय अभावले यो मुद्दालाई हेर्दाहेर्दैमा राखिएको थियो। बुधबार गभर्नर अधिकारीका तर्फबाट वकिलले बहस गरेका थिए। आज सरकारतर्फबाट बहस हुनेछ।
सरकारलाई असहयोग गरेको भन्दै मन्त्रिपरिषद्को गत चैत २५ गते बसेको बैठकले गभर्नर अधिकारीमाथि छानबिन गर्न पूर्वन्यायाधीश पुरुषोत्तम भण्डारीको नेतृत्वमा जाँचबुझ समिति बनाएको थियो। सरकारले जाँचबुझ समिति बनाएसँगै अधिकारी गभर्नरबाट स्वतः निलम्बित भएका थिए।
सरकारले आफूमाथि पूर्वाग्राही ढंगले कानुनविपरीत कारबाही गरेको भन्दै अधिकारीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई विपक्षी बनाइए पुनर्बहालीको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका थिए। अधिकारीको रिटमाथि सुनुवाइ गर्दै गत वैशाख ६ गते न्यायाधीश हरिप्रसाद फुयालको एकल इजलासले अधिकारीमाथि कुनै कारबाही अगाडि नबढाउन अल्पकालीन अन्तरिम आदेश दिएको थियो। उनीमाथि छानबिन गर्नका लागि छानबिन समिति गठन गर्नुको कारण माग गर्दै कारण देखाउ आदेशसमेत इजलासले जारी गरेको थियो।
फुयालको इजलासले अन्तरिम आदेश दिने कि नदिने भन्ने विषयमा छलफल गर्न वैशाख १३ गते (मंगलबार) दुवै पक्षलाई बोलाएको थियो। तर, समय अभावका कारण यो मुद्दालाई हेर्दाहेर्दैमा राखिएको थियो।
आजको बहसपछि अदालतले अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिने किन नदिने भन्ने विषयको छिनोफानो हुनेछ।
                            
                            
                                                            
                                
                            
                                                        
                            
                            
                            
                            
                            
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19