काठमाण्डौ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको मुद्दा आज बिहीबार हेर्दाहेर्दै राखिएको छ।
न्यायाधीश सपना मल्ल प्रधान र टंकबहादुर मोक्तानको इजलासले आज समय अभावले गर्दा गभर्नर अधिकारीको मुद्दा हेर्दाहेर्दैमा राखेको हो। अब यो मुद्दाको सुनुवाइ (पेसी) भोलि शुक्रबारलाई तोकिएको छ।
गभर्नर अधिकारीको मुद्दाको मंगलबारदेखि सुनुवाइ सुरु भएको थियो। मंगलबार समय अभावले यो मुद्दालाई हेर्दाहेर्दैमा राखिएको थियो। बुधबार गभर्नर अधिकारीका तर्फबाट वकिलले बहस गरेका थिए। आज सरकारतर्फबाट बहस गरेका थिए।
सरकारलाई असहयोग गरेको भन्दै मन्त्रिपरिषद्को गत चैत २५ गते बसेको बैठकले गभर्नर अधिकारीमाथि छानबिन गर्न पूर्वन्यायाधीश पुरुषोत्तम भण्डारीको नेतृत्वमा जाँचबुझ समिति बनाएको थियो। सरकारले जाँचबुझ समिति बनाएसँगै अधिकारी गभर्नरबाट स्वतः निलम्बित भएका थिए।
सरकारले आफूमाथि पूर्वाग्राही ढंगले कानुनविपरीत कारबाही गरेको भन्दै अधिकारीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई विपक्षी बनाइए पुनर्बहालीको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका थिए। अधिकारीको रिटमाथि सुनुवाइ गर्दै गत वैशाख ६ गते न्यायाधीश हरिप्रसाद फुयालको एकल इजलासले अधिकारीमाथि कुनै कारबाही अगाडि नबढाउन अल्पकालीन अन्तरिम आदेश दिएको थियो। उनीमाथि छानबिन गर्नका लागि छानबिन समिति गठन गर्नुको कारण माग गर्दै कारण देखाउ आदेशसमेत इजलासले जारी गरेको थियो।
फुयालको इजलासले अन्तरिम आदेश दिने कि नदिने भन्ने विषयमा छलफल गर्न वैशाख १३ गते (मंगलबार) दुवै पक्षलाई बोलाएको थियो। तर, समय अभावका कारण यो मुद्दालाई हेर्दाहेर्दैमा राखिएको थियो। आज पनि सुनुवाइका क्रममा समय अभावपछि यो मुद्दालाई हेर्दाहेर्दैमा राखिएको छ।
अब भोलिको सुनुवाइपछि अदालतले अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिने किन नदिने भन्ने विषयको छिनोफानो हुने देखिन्छ।
                            
                            
                                                            
                                
                            
                                                        
                            
                            
                            
                            
                            
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19