काठमाण्डौ । राष्ट्रिय स्तरको गरिमा विकास बैंक लिमीटेडले आर्थिक वर्ष २०७४/७५ को चौथो त्रैमाससम्म गज्जबको प्रगति गरेको छ । यो बैंकले यो अवधिमा ४३ करोड ७८ लाख खूद नाफा आर्जन गरेको हो । गत वर्षको यही अवधिको तुलनामा यो नाफा २७.७८ प्रतिशतले बढी हो । गत वर्ष ३४ करोड २६ लाख खूद नाफा आर्जन गरेको थियो । 

बैंकले तेश्रो त्रैमाससम्म २८ करोड १५ लाख नाफा गरेकोमा चौथो त्रैमासमा मात्रै खूद नाफातर्फ १५ करोड ६३ लाखले वृद्धि गरेको देखिएको छ ।

समीक्षा अवधिमा बैंकले व्यवसाय बिस्तारमा ध्यान दिएका कारण खूद ब्याज आम्दानी बढेर १ अर्ब माथि पुगेको छ । अघिल्लो वर्ष यही अवधिमा यस्तो आम्दानी ७४ करोड ९१ लाखमा सीमित थियो । 

यो अवधिमा बैंकको संचालन नाफामा पनि राम्रो वृद्धि भएको देखिएको छ । अघिल्लो वर्ष यही अवधिमा ५२ करोड ६५ लाख रहेको संचालन नाफा बढेर समीक्षा अवधिमा ६६ करोड ८७ लाखको उचाईमा पुगेको छ । 

समीक्षा अवधिमा गरिमा विकास बैंकले २१ अर्ब २२ करोड निक्षेप संकलन गरी १८ अर्ब ८५ करोड कर्जा परिचालन गरेको छ । अघिल्लो वर्ष यही अवधिमा बैंकले १४ अर्ब ५१ करोड निक्षेप संकलन गरी १२ अर्ब ९९ करोड कर्जा परिचालन गरेको थियो । यसरी हेर्दा निक्षेपतर्फ ४६.२१ प्रतिशत र कर्जातर्फ ४५.११ प्रतिशतले फड्को मारेको देखिन्छ । 

कम्पनीले रिजर्ब कोषलाई समेत अझ मजबुत बनाएको छ । अघिल्लो वर्ष ६२ करोड ५५ लाख रहेको कोषको आकार बढी ७२ करोड ७२ लाखको उचाईमा पुगेको छ । 

कर्मचारी खर्च र अन्य संचालन खर्चमा निकै धेरै वृद्धि हुँदा समेत बैंकले खूद नाफामा गरेको प्रगति लोभलाग्दो देखिन्छ । 

यो बैंकका अधिकांश सूचकमा सकारात्मक सुधार देखिए पनि खराब कर्जा भने केही बढेको छ । अघिल्लो वर्षको यही अवधिसम्म यस्तो कर्जा ०.२४ प्रतिशत रहेकोमा त्यो बढेर अहिले ०.२७ प्रतिशत पुगेको छ । ७.६२ प्रतिशत रहेको कस्ट अफ फण्ड बढेर ८.९८ प्रतिशत पुगेको छ भने समीक्षा अवधिसम्म कम्पनीले ७६.३३ प्रतिशतको सीडी रेसियो कायम गर्न सकेको देखिएको छ । 

समीक्षा अवधिमा बैंकको प्रतिसेयर आम्दानी १७.२७ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १२८.६९ रुपैयाँ, पूँजीकोष अनुपात १९.३३ प्रतिशत र मूल्य आम्दानी अनुपात १०.५४ गुणा कायम भएको छ ।