-भक्तराज रसाइली
काठमाण्डौं । भनिन्छ ठूलो निधार भएको मान्छे भाग्यमानी हुन्छन् । चौडा र ठूला निधार भएका मिहिनेती हरिप्रसाद पौडेल, जो नोकियाको एउटा कालो मोबाइल सेटमा शिक्षकहरु र विद्यार्थीहरुसँग फोनमा प्रायः वार्तालाप गरिरहेका देखिन्छन् ।
हरिप्रसाद पौडेल उर्फ हरि सर काठमाण्डौं ३२ स्थित शंकरदेव क्याम्पसको विपरीत गल्लीमा रहेको जागिर प्रवेशको परीक्षा तयारी केन्द्र एपेक्स एडुकेशनल एकेडेमीका सञ्चालक तथा स्थापनाकर्ता हुन् ।
लोकसेवा, सेवा आयोग लगायत विभिन्न परीक्षामा सहभागीहरुलाई सेवामुखी व्यापार गर्दै आएका पौडेलले मिहिनेती, लगनशील र इमान्दार व्यक्तिको छवि बनाइसकेका छन् । पौडेलको जन्म वि.सं. २०२८साल असार २० गते गुल्मीको हर्दिनेटा गा.वि.स.मा भएको थियो । पिता स्व.कृष्णप्रसाद पौडेल र आमा स्व. बालकुमारी पौडेलका कान्छा सुपुत्रका रुपमा उनको सामान्य किसान परिवारमा जन्म भएको हो ।
हरि सर २ वर्ष हुँदा आमा र ९ वर्षकै कलिलो उमेरमा पिता गुमाउन पुगेकाले घरको आर्थिक अवस्था कमजोर बन्न पुगेको थियो । अरुको घरमा घाँस काटेर, वस्तुभाउ चराएर हाइस्कूलसम्म उनले गाउँमै शिक्षा आर्जन गरे । उनले भोगेका दुःख र हण्डरहरु जोकोही व्यक्तिहरुका लागि प्रेरणाको सकारात्मक ऊर्जा बन्न सक्छ ।
उनको संघर्षको कथा पनि कम रोचक छैन । उनी शिक्षा र जागिरको तिर्खा मेटाउन २०४८ सालमा राजधानी काठमाण्डौं छिरे । काठमाण्डौ छिर्ने बित्तिकै उनले गलैंचा उद्योगमा महिनाको १ हजार बुझ्ने गरी केही समय काम गरे । त्यसपछि उनले अस्थायी मुखियाका रुपमा जागिरे बने । २०४९ सालमा काम गर्दै पढ्दापढ्दै उनले आई.ए. उत्तीर्ण गरे ।
खरिदारमा जागिर पनि भयो, तर साथीभाइहरुको लहैलहैमा लागेर पौडेल बेलायतमा बैंकिङ्ग विषय अध्ययन गर्न तम्सिए ।
उता, खरिदारको जागिरबाट राजीनामा दिई बेलायती भिजा कुरिरहेका उनलाई अर्को झट्का लाग्यो । बेलायतले भिजा नै दिएन, कारण थियो उनीसँग पर्याप्त बैंक ग्यारेण्टी नहुनु ।
केही खुशी मिल्दामिल्दै पुुनः उनी रित्तो थिए, तर मिहिनेती पौडेल साथीसँग मिलेर प्रेस सञ्चालन गर्न पुगे । अनि १ वर्ष जत्ति स्टेशनरी पसल पनि खोले, त्यहाँबाट पनि भनेजस्तो नभएपछि एनजीओमा जागिर खाने सोंच लिएर ११ महिना खटिए ।
सपनाहरुलाई आँखामा सजाउन नछाडेका उनलाई निष्पक्ष परीक्षा हुने लोकसेवा पढ्ने संस्था खोल्न पाए हुन्थ्यो भन्ने सोंचाइ मनमा आयो । त्यही सोंचाइ र सपनाहरुले आज मूर्त रुप लिदैं एपेक्स एकेडेमीको सूत्रपात गरे । आज त्यही सोंचाई नै उनले नसोचेको प्रगति हासिल गर्ने सेतू बन्न पुग्यो ।
२०६१ सालमा सामान्य कोचिङ्ग सेन्टरका रुपमा एपेक्स स्थापना गरेका पौडेल लोकसेवा पढाउने अभियान देशका कुनाकुनामा हुनुपर्ने मान्यतामा अघि बढ्दै १०–१२ जनाबाट सुरु गरेका उनका उत्पादनहरु आज राज्यका विभिन्न निकायमा हजारौं संख्यामा कार्यरत छन् ।
सरकारी कार्यालयमा आजभोलि काम परेर जाँदा आफू शिक्षक नभए पनि सबैले चिनेर सम्मानस्वरुप ‘हरि सर’ भन्दा औधी खुशी लाग्ने गरेको उनले भने–‘म शिक्षक नै नभए पनि ‘हरि सर’का रुपमा चिनिन पाउँदा अत्यन्तै गौरव महसुस हुन्छ ।’
उनको एपेक्स एकेडेमीमा लोकसेवा आयोग, विभिन्न सेवा आयोग, बैंकिङ्ग, सुरक्षा लगायतका विभिन्न तयारी कक्षा सञ्चालन हुँदै आएको छ ।
उनले आजसम्म त्यहाँबाट उत्पादन भएका बहालवाला सहसचिवसम्म भएको उनको दाबी छ ।
हजारौंलाई देशको सरकारी सेवामा प्रवेश गर्न उत्प्रेरित गर्ने पौडेललाई धेरैलाई जागिर खुवाउन सेवामुखी व्यवसाय गर्न पाएकोमा सन्तुष्ट भएको बताउँछन् । सुरु सुरुमा शिक्षकलाई तिर्ने फी नहँुदा दुःख भएको, तर आज सेवामुखी व्यापारमा २५० जना शिक्षकहरुलाई समेत पढाउने रोजगारी दिइरहेको उनको भनाइ छ ।
‘सरकारी सेवामा नै भएको भए सहसचिव हुन सकिन्थ्यो, तर अहिले सबैको हरि सर भएको छु, राम्रो मान्छेहरुको संगत आर्जन गरेको छु।’पौडेल भन्छन्–‘आमाको अनुहार कस्तो थियो थाहा नपाउँदा मातृपीडा धेरै हुन्छ ।’
अरुको घाँस काट्दै दुःखले पढेका उनले काठमाण्डौंमा समेत विभिन्न संघर्ष गर्न नछाडेको उनी बताउँछन् ।
शंकरदेव क्याम्पसका लेक्चरर जोगिन्दर गोइतलाई आफ्नो गडफादर मान्ने उनले भने–‘मेरो एकेडेमीमा लेखा विषय ट्युसन पढाउन समय नदिएका कारणले त्यसलाई सकारात्मक सोच्दै लोकसेवा तयारी कक्षा सञ्चालन गरेको र आज त्यही मोड नै जीवनको समृद्धिको यात्रा बनेकोमा म गोइतलाई गडफादर भनी आदर गर्छु ।’
संस्थालाई थप मलजल गर्न चूडामणि शर्मा, गोपीनाथ मैनाली, विनोद विष्ट र उनकी श्रीमती रञ्जिता आचार्यको विशेष भूमिका रहेको उनले सुनाए ।
जीवनलाई एक अविरल संघर्षका रुपमा बुझ्ने पौडेल हरेश खान हुुँदैन, सफलता अवश्यम्भावी छ भन्ने मान्यता राख्छन् ।
लोकसेवा तथा विभिन्न संघसंस्थाले लिइने परीक्षामा एपेक्सको उत्तीर्ण प्रतिशत ६० सम्म रहेको दाबी गरेका पौडेल वार्षिक औसत २ हजार विद्यार्थी आफूकहाँ पढ्न आउने गरेका र हाल नेपाल सरकारको बहालवाला सहसचिवसम्म उत्पादन भएको उनले खुलाए ।
दैलेख, रुकुम, जुम्ला लगायतबाट विद्यार्थीको धेरै चाप हुने गरेकोमा सप्तरी, सिराहा, संखुवासभा, इलाम, खोटाङ्ग लगायतका देशका कुनाकन्दराबाट समेत एपेक्समा तयारी गर्न आउने गरेको उनले जानकारी दिए ।
उनले तयारी कक्षामा मात्र हात हालेका छैनन् । कलेज, २ वटा स्कूल, कन्सल्टेन्सी, सहकारीमा समेत हात हालेका छन् । जसमा सबै क्षेत्रका गरेर उनले हाल ३ सय १५ जनालाई प्रत्यक्ष रोजगारी समेत दिएका छन् ।
विभिन्न क्षेत्रका विषय विज्ञहरु उनको रोष्टरमा २ सय ५० जनाले कोचिङ्ग पढाउन पाएको उनले बताए ।
एपेक्स नै किन भन्ने बिजशालाको जिज्ञासामा संस्था सञ्चालक आफैं अहोरात्र खट्ने र गुणस्तरी शिक्षा दिने भएकोले भन्ने जवाफ दिए ।
विद्यार्थीका मागअनुसारका शिक्षक, गुणस्तर व्यवस्थापन, उच्च उत्तीर्ण प्रतिशत र संस्थाले दिनुपर्ने सेवामा कुनै कसर नराख्ने उनको प्रतिबद्धता छ ।
सेयर बजारमा लगानी छ कि भन्ने प्रश्नमा पौडेल भन्छन्–‘साथीभाइहरुको संगतले प्राथमिक बजारमा लगानी गरियो, त्यत्ति नै बखत बेचियो पनि र अहिले मसँग विभिन्न बैंकका ३ सय कित्ता जत्ति मात्र सेयर छ।’
अहिले सबै क्षेत्रबाट खर्च कटाएर मासिक ३ लाख कमाई भइरहेको बताउने पौडेलले आफ्नै बलबुताका भरमा ललितपुर महालक्ष्मी नगरपालिकामा ६ आना जग्गामा ३ तले घरसमेत जोडेका छन् ।
लगन, इमान्दारिताका कारणले एकदिन करोडपति भइने दृष्टान्त बनेका ‘हरि सर’ सम्पूर्ण नेपालीहरुका लागि प्रेरणाका स्रोत बन्नसक्छन् ।
उनको लगन र संघर्षले हरेक युवाहरुलाई मुलुकभित्र अवसर चिन्न र अवसरलाई भाग्यमा परिणत गर्न सकिन्छ भन्ने उदाहरण दिन सक्छ ।
बिदेश जान ऋण पाउने नेपाली समाज तरकारी खेती गरी देशमा नै पौरख बजार्न खोज्दा ऋण नपाएकोमा आक्रोशित उनले देशमा अवसर छ र बिदेश नगई सरकारी सेवामा प्रवेश गर्दै समाज परिवर्तन गर्न सकिने सुझाए।
शिक्षित भाइबहिनीहरुलाई लगनशील भई सरकारी जागिरमा छिर्न सल्लाह दिन्छन् । आफ्नै गाउँठाउँमा नंग्रा खियाउन र बिदेश पलायन हुनबाट सचेत हुनपर्ने उनको धारणा छ ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago