काठमाण्डौ । गुडविल फाइनान्स लिमिटेडले चालु आर्थिक वर्षको प्रथम त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। 

समीक्षा अवधिमा संस्थाको नाफा गत वर्षको यही अवधिको तुलनामा १४४.१३ प्रतिशतले बढेको छ। गत वर्ष २ करोड ९१ लाख रुपैयाँ नाफा आर्जन गरेकोमा समीक्षा अवधिमा बढेर ७ करोड ११ लाख रुपैयाँ भएको छ।

यो अवधिमा संस्थाले सञ्चालन मुनाफा पनि १३७ प्रतिशतले बढाउन सफल भएको छ। प्रथम त्रैमासमा संस्थाले ९ करोड ८२ लाख रुपैयाँ सञ्चालन मुनाफा गरेको छ। गत वर्ष यही अवधिमा संस्थाको सञ्चालन मुनाफा ४ करोड १३ लाख रुपैयाँ रहेको थियो।

संस्थाको खुद ब्याज आम्दानी १३०.२४ प्रतिशतले बढेर १४ करोड ३० लाख रुपैयाँ भएको छ। गत वर्ष यही अवधिमा यस्तो आम्दानी ६ करोड २१ लाख रुपैयाँमा सीमित थियो।

संस्थाले १० अर्ब २७ करोड रुपैयाँ निक्षेप संकलन गरी ७ अर्ब ७१ करोड रुपैयाँ कर्जा परिचालन गरेको छ। गत वर्ष यही अवधिमा संस्थाले १० अर्ब ८ करोड रुपैयाँ निक्षेप संकलन गरी ७ अर्ब ३७ करोड रुपैयाँ कर्जा परिचालन गरेको थियो।

चुक्तापुँजी ८६ करोड ७२ लाख रुपैयाँ रहेको संस्थाको रिजर्भको आकार ९९ करोड २१ लाख रुपैयाँबाट बढेर १ अर्ब ५ करोड रुपैयाँको उचाइमा पुगेको छ। 

संस्थाको खराब कर्जा दर बढेर ३.४ प्रतिशत पुगेको छ। गत वर्ष यही अवधिमा संस्थाको खराब कर्जा दर २.०१ प्रतिशतमा सीमित थियो। 

संस्थाको वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस) ३२.८४ रुपैयाँ पुगेको छ। गत वर्ष ईपीएस १४.५८ रुपैयाँ रहेको थियो।