काठमाण्डौ । बहुप्रतिक्षित नेपाल ग्रामीण विकास बैंक लिमीटेडले एकसय रुपैयाँ प्रतिकित्ताको दरले आगामी भदौ २७  गतेदेखि एफपीओ निश्कासन गर्ने भएको छ । 

बैंकले शुक्रबार एक आह्वानपत्र प्रकाशित गर्दै भदौ २७ गतेदेखि ३० गतेसम्म एफपीओ खरीदका लागि आवेदन दिन सकिने जनाएको हो । यो अवधिसम्म माग अनुसारको आवेदन नपरे ढिलोमा असोज १० गतेभित्र आवेदन दिन सकिनेछ । 

नेपाल ग्रामीण विकास बैंकले कुनै प्रिमियम मूल्य नराखी अंकित दर(रु १००)मै ९ लाख ७५ हजार कित्ता साधारण सेयरको अतिरिक्त निश्कासन गर्न लागेको हो । यो कम्पनीको दोश्रो बजारमा अन्तिम कारोबार मूल्य प्रतिकित्ता ७ सय ५५ रुपैयाँ रहेको छ । 

इच्छुक लगानीकर्ताले न्यूनतम ५० देखि अधिकतम ४ हजार ८ सय ७० कित्तासम्मका लागि आवेदन दिनसक्नेछन् । 

हाल यो कम्पनीको अधिकृत पूँजी १ अर्ब, जारी पूँजी ६५ करोड ५० लाख र चुक्तापूँजी ५५ करोड ७५ लाख रहेको छ । 

यो बैंकको एफपीओ निश्कासन तथा बिक्री प्रबन्धकमा प्रभूू क्यापिटल लिमीटेड रहेको छ । 

विवरणपत्र तथा दरखास्त फारम प्रभूू क्यापिटलको काठमाण्डौ कमलादीस्थित कार्यालय, नेपाल ग्रामीण विकास बैंकको बुटवलस्थित मुख्य कार्यालयमा समेत पाइनेछ । यस्तै, नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरी आस्वा सेवामा सहभागी बैंक तथा बित्तीय संस्थाहरु तथा तिनका शाखा कार्यालयबाट समेत एफपीओका लागि आवेदन दिन सकिनेछ । 

आर्थिक वर्ष २०७३/७४ मा यो बैंकले १६ करोड १४ लाख खूद नाफा आर्जन गरेको थियो । कर्मचारी व्यवस्थापन खर्च र अन्य केही अनपेक्षित खर्च बढ्दा यसको नाफा केही खुम्चिए पनि समग्रमा यो बैंकको अवस्था राम्रो छ । यहीकारण समेत एफपीओमा ढुक्कले लगानी गर्दा डूूब्ने अवस्था छैन ।