काठमाण्डौ । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो नवौँ वार्षिक साधारणसभा डाकेको छ। 

संस्थाको सञ्चालक समितिको शुक्रबार बसेको बैठकले वार्षिक साधारणसभा यही मंसिर २८ गते आयोजना गर्ने निर्णय गरेको छ। सभा पोखरास्थित होटेल पोखरा ग्रान्डमा बिहान १० बजेबाट सुरु हुनेछ।

सभाले संस्थाले गत आर्थिक वर्षका लागि प्रस्ताव गरेको चुक्तापुँजीको २८ प्रतिशत बोनस सेयर अनुमोदन गर्नेछ। 

सभाले संस्थाको प्रबन्धपत्रको दफा ६ मा भएको पुँजी संरचनासम्बन्धी व्यवस्थाको खण्ड (ख) र (ग) मा भएको कम्पनीको चुक्तापुँजी तथा जारी पुँजी वृद्धि गर्ने प्रस्ताव पनि पारित गर्नेछ। 

संस्थाले एक वा एकभन्दा बढी उपयुक्त लघुवित्त वित्तीय संस्थाहरु गाभ्ने, गाभिने तथा प्राप्ति गर्ने प्रयोजनका लागि आवश्यक कार्यहरु गर्नका लागि सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव सभाले अनुमोदन गर्नेछ। 

सभाले गत आर्थिक वर्षको वार्षिक, आर्थिकलगायतका प्रतिवेदन पारित गर्नेछ। 

लाभांश र सभा प्रयोजनका लागि संस्थाले यही मंसिर १४ गते १ दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ मंसिर १३ गतेसम्म कायम सेयरधनीहरुमात्रै यो संस्थाको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्।