काठमाण्डौ । ग्लोबल आइएमई बैंकले रिलायवल डेभलपमेन्ट बैंक खरीद गर्ने भएको छ । 

रिलायवललाई अक्वायर गर्ने बिषयमा शुक्रबार दुवै बैंकका संचालक समितिका अध्यक्षहरुले हस्ताक्षर गरे । 

ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाल र रिलायवल डेभलपमेन्ट बैंकका अध्यक्ष राधेश्याम अग्रवालले अक्वायर सम्बन्धी सम्झौतामा हस्ताक्षर गरेका रिलायवल डेभलपमेन्ट बैंकका सीइओ नारायणबाबु लोहनीले बिजशालालाई जानकारी दिए । 

उनका अनुसार ग्लोबल आइएमईले रिलायवललाई अक्वायर गर्ने प्रक्रिया ढिलोमा पनि ३ महिनाभित्र सकेर एकीकृत कारोबार सुरु गर्ने सम्झौता समेत भएको छ । रिलायवल बैंकको आइतबारदेखि सेयर कारोबार रोकिनेछ । 

तत्कालीन रिलायवल फाइनान्स, नेपाल कन्जुमर डेभलपमेन्ट बैंक र शुभलक्ष्मी फाइनान्स आपसमा मर्ज भई रिलायवल डेभलपमेन्ट बैंक बनेको थियो । यो बैंकले रिलायवल माइक्रो फाइनान्स नामको कम्पनी पनि संचालन गर्दै आइरहेको छ । 

लोहनीका अनुसार रिलायवल डेभलपमेन्ट बैंकको चुक्तापूँजी ७८ करोड ८४ लाख रुपैयाँ  छ । रिजर्भमा ३७ करोड रुपैयाँ छ । यो बैंकले आर्थिक वर्ष २०७२ ७३ को अवधिमा २६ करोड ९० लाख रुपैयाँ खूद नाफा आर्जन गरेको थियो । यो अवधिमा बैंकले आठ अर्ब २१ करोड रुपैयाँको निक्षेप संकलन गरी ६ अर्ब ९४ करोड बढीको कर्जा प्रवाह गरेको छ । रिलायवल बैंकले १७ वटा शाखाबाट बैकिङ सेवा प्रवाह गरिरहेको छ । यो बैंकमा १६३ कर्मचारी कार्यरत छन् । 

यता, ग्लोबल आइएमई बैंकको हालको चुक्तापूँजी ६ अर्ब १६ करोड रुपैयाँ छ । गत आर्थिक वर्षको नाफाबाट यो बैंकले लगानीकर्तालाई १६ प्रतिशत लाभांश वितरणको घोषणा गरेको छ । यो प्रस्ताव पारित भएपछि ग्लोबल आइएमई बैंकको कुल चुक्तापुँजी ७ अर्ब १४ करोड भन्दा बढी पुग्नेछ । त्यसमा रियालयवल डेभलपमेन्ट बैंक एक्वायरपछि चुक्तापूँजी ७ अर्ब ९५ करोडको हाराहारीमा पुग्नेछ । 

ग्लोबल आइएमई बैंकले यसअघि नै एकजिल्ले प्यासिफिक डेभलपमेन्ट बैंकलाई समेत अक्वायर गर्ने सम्झौता  गरिसकेको छ । यो विकास बैंकसँग १० करोड रुपैयाँको चुक्तापूँजी छ । यो समेत जोडिँदा अबको ३ महिनाभित्र ग्लोबल आइएमई बैंकको चुक्तापूँजी ८ अर्ब ५ करोड पुग्नेछ । ग्लोबल आइएमईले यसअघि कमर्ज एण्ड ट्रष्ट बैंकलाई मर्ज गरेको थियो । 

नेपाल राष्ट्रबैंकले ०७४ असार मसान्तभित्रमा वाणिज्य बैंकहरुले ८ अर्ब चुक्तापूँजी पुर्याउनुपर्ने सीमा तोकेको छ । यो सीमा भन्दा करिब ५ महिनाअघि नै ग्लोबल आइएमई बैंकले तोकिएको चुक्तापूँजी पुर्याउने देखिएको छ ।