काठमाण्डौ । पाकिस्तानको अवस्था सुध्रिने नाम लिइरहेको छैन। जनताको कठिनाइ बढ्दै गइरहेको छ। 

चरम महँगीको मारमा जनता परेका छन्। बेरोजगारी पनि उच्च विन्दुमा पुगेको छ। 

संकटग्रस्त पाकिस्तानमा आपूर्ति शृंखला अवरोधका कारण सुजुकी मोटर्सलगायत धेरै ठूला कम्पनीहरुले आफ्ना प्लान्टहरु बन्द गरेका छन्। उत्पादन लगभग शून्य पारेका छन्।

अहिलेसम्मकै सबैभन्दा ठूलो आर्थिक संकटको सामना गरिरहेको पाकिस्तानमा हरेक दिन जनतालाई ठूलो नोक्सान भइरहेको छ। पछिल्ला केही महिनामा धेरै ठूला कम्पनीहरु पाकिस्तानबाट बाहिरिन थालेका कारण जनतामा बेरोजगारी संकट बढेको छ। 

ब्लुमबर्गको प्रतिवेदनअनुसार सुजुकी मोटर कर्प र जीएसकेलगायत अमरेली स्टिल्स लिमिटेड, मिल्त ट्रयाक्टर्स लिमिटेड, डायमण्ड इन्डस्ट्रिज लिमिटेड लगायतका धेरै कम्पनीले आफ्ना प्लान्ट बन्द छन्। अवस्था यति नाजुक बनेको छ कि कम्पनीहरुले चाहिने सामान पनि पाउन सकेका छैनन्। 

प्रतिवेदनअनुसार सुजुकी मोटरको उत्पादन कारखानाको काम फेब्रुअरी २ देखि रोकिएको थियो भने कच्चा पदार्थ आयातमा समस्या आएपछि टायर ट्युब र औषधिसँग सम्बन्धित धेरै कम्पनीले काम रोकेका छन्। औषधि कम्पनीमा काम ठप्प हुँदा मानिसले बेरोजगारीसँगै रोगको उपचारका लागि औषधिको चर्को अभावको सामना गर्नुपर्ने हुनसक्छ।

पाकिस्तानमा मुद्रास्फीति ३० प्रतिशतको उचाइ पुगेको छ। मानिसहरु पिठो, दाल र चामलदेखि पेट्रोल र डिजेलसम्मका सवारीसाधनका लागि लडिरहेका छन् । यस प्रकारको संकट र सेयर बजारमा सूचीकृत कम्पनीहरु बन्द हुने अवस्था यति ठूलो मात्रामा पहिलोपटक देखिएको विज्ञहरु बताउँछन् । मुद्रास्फीतिका कारण अत्यावश्यक वस्तुहरु जनताको पहुँचभन्दा बाहिर गइरहेका छन्। त्यसमाथि पाकिस्तानका लाखौँ जनताका अगाडि बेरोजगारीको संकट गहिरिँदै गएको छ।

स्थिति बिग्रँदै गएकोले अहिले पाकिस्तान छोडेर भाग्न धनाढ्यको संख्या बढ्न थालेको छ। पाकिस्तानबाट विदेश जानेको संख्यामा अचानक बृद्धि भएको छ । सन् २०२२ मा ८ लाख ३२ हजार ३३९ जनाले देश छाडेका थिए। यो सन् २०१६ पछिको सबैभन्दा ठूलो संख्या हो। 

सन् २०२१ को तुलनामा सन् २०२२ मा देश छोड्ने पाकिस्तानीको संख्यामा झन्डै २०० प्रतिशतले वृद्धि भएको छ।