काठमाण्डौ । सरकारले समस्याग्रस्त घोषित चार्टर्ड सेभिङ एन्ड क्रेडिट को–अपरेटिभका ऋणी सदस्यलाई १५ दिनभित्र कर्जाको साँवा–ब्याज बुझाउन ताकेता गरेको छ। 

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयअन्तर्गतको सहकारी व्यवस्थापन समितिको कार्यालय असार २३ एक सूचना प्रकाशित गरी उक्त सहकारीका ऋणी सदस्यलाई कर्जाको साँवा–ब्याज बुझाउन ताकेता गरेको हो। 

तोकिएको अवधिभित्र बुझाउन बाँकी कर्जाको साँवा–ब्याज तिर्न नआएको खण्डमा ऋणी सदस्यहरुको नाममा रोक्का राखिएको अचल सम्पत्तिहरु सहकारी ऐन, २०७४ नियमावली, २०७५बमोजिम लिलाम बिक्रीबाट असुल गरी बचतकर्ताको बचत फिर्ता गर्ने प्रक्रिया अगाडि बढाइने कार्यालयले जनाएको छ। 

यसअघि कार्यालयले उक्त संस्थाका ऋणी सदस्यहरुलाई एसएमएस, टेलिकम सम्पर्क, पत्राचार तथा पत्रपत्रिकामा सूचना प्रकाशित गर्दासमेत संस्थालाई बुझाउनुपर्ने साँवा–ब्याज तिर्नका लागि सम्पर्क राख्न नआएको जनाएको छ।