काठमाण्डौ । पछिल्लो समयमा चीनको रियल स्टेट क्षेत्रमा संकट गहिरिँदै गएको छ। 

अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुका अनुसार चीनको सबैभन्दा ठूलो प्राइभेट प्रपर्टी डेभलपर कम्पनी कन्ट्री गार्डेन पनि वैदेशिक ऋण तिर्न चुकेको छ। यो कम्पनीको विदेशी ऋण ११ अर्ब डलर र आन्तरिक ऋण ६ अर्ब डलर छ। 

यही डिफल्टका कारण चीनको समस्या बढेको छ। यसको कारण चीनको अर्थतन्त्रमा रियल स्टेटेको एक तिहाइ हिस्सा ओगटेको छ। रियल स्टेट कम्पनीहरु डुब्दा बैंकहरुको अवस्था पनि बिग्रन सक्छ र यसले समग्र अर्थतन्त्र नै डुब्ने खतरा उत्पन्न हुन सक्छ। 

जुलाई र सेप्टेम्बरको बीचमा चीनको अर्थतन्त्र ४.९ प्रतिशतले बढेको छ। जुन दोस्रो त्रैमासिकमा ६.३ प्रतिशतभन्दा कम हो।

चीन सरकारले हाउजिङको डिमान्ड बढाउन धेरै उपाय अपनाएको छ। तर, घर बिक्री गत वर्षको तुलनामा निकै कम छ। 

यो वर्षको पहिलो ९ महिनामा चीनमा प्रपर्टी इन्भेस्टमेन्ट ९.१ प्रतिशतले घटेको छ। अगस्टमा कन्ट्री गार्डनले वर्षको पहिलो ६ महिनाको तथ्यांकहरु जारी गरेको थियो। त्यस अवधिमा कम्पनीले ६.७ अर्ब डलरको कीर्तिमानी घाटा व्यहोरेको छ। यदि कम्पनीको डिफल्ट पुष्टि भयो भने विदेशी ऋणीहरुले रिस्ट्रक्चरिङ प्रोसेसका लागि वित्तीय सल्लाहकारहरुसँग वार्ता सुरु गर्न सक्छन्। कम्पनीको ऋणलाई हेर्दा यो प्रक्रिया लामो समय लाग्न सक्छ।

सन् २०२१ मा कन्ट्री गार्डेनको प्रतिद्वन्द्वी कम्पनी एभरग्रान्डे डिफल्ट भएको थियो। यसले चीनमा रियल स्टेट संकटको सुरुआत ग¥यो। कम्पनीका अध्यक्ष अहिले प्रहरी हिरासतमा छन्। 

सन् २०२० मा चीन सरकारले रियल स्टेट कम्पनीहरुले लिने ऋणको सीमाबारे नियम बनाएको थियो। यसबाट रियल स्टेट इन्डस्ट्रीमा तरंग ल्यायो। एभरग्रान्डे कुनै समय चीनको सबैभन्दा बढी बिक्री हुने डेभलपर कम्पनी थियो। आज योसँग ३०० अर्ब डलरभन्दा बढी ऋण छ। जुन संसारको कुनै पनि रियल स्टेट कम्पनीको सबैभन्दा ठूलो ऋण हो। 

रियल स्टेटबाहेक अर्थतन्त्र अन्य धेरै मोर्चामा चीनले संघर्ष गरिरहेको छ। अर्थतन्त्रको वृद्धि सुस्ताएको छ। स्थानीय सरकारको ऋण बढ्दै गएको छ। बेरोजगारी चरम उत्कर्षमा पुगेको छ। मन्दीको डरले मानिसहरु खर्च गर्नबाट टाढिँदै गएकाले उपभोक्ताको उपभोग पनि सुस्त भएको छ। विदेशी कम्पनीहरुले चीनबाट बाहिर निस्किरहेका छन् भने विदेशी लगानीकर्ताले पैसा फिर्ता गरिरहेका छन्। –एजेन्सी