काठमाण्डौ । विश्वकै ठूलो अर्थतन्त्र भएको चीनले केहि वर्षयता भ्रष्टाचारको जरो खोतल्ने क्रममा विभिन्न कम्पनीका प्रमुख कार्यकारीमाथि कडा निगरानी गरिरहेको छ ।

चीनियाँ सरकारले भ्रष्टाचार विरोधी अभियानलाई कसिलो पारेसँगै बैंक तथा प्रविधि क्षेत्रका शीर्ष कार्यकारीहरू एकपछि अर्को काण्डमा मुछिदै गएका छन् ।चीनमा तीन सातायता लाइभ स्ट्रिमिङ सेवा प्रदायक दोउयु कम्पनीका प्रमुख कार्यकारी अधिकृत(सीईओ) चेन शाओजेई र वोहुआ फार्मास्युटिकलका अध्यक्ष झाओ बिंग्जियान वेपत्ता छन् ।

उनी चीनमा लगानी गुरुको रुपमा परिचित छन् । झाओलाई भने उनको कम्पनीले नियामक निकायले पक्राउ गरेको पुष्टि गरेको छ ।वोहुआ फर्मास्युटिकलले आफ्ना अध्यक्षलाई हिरासतमा लिनुको कारण बारेमा कुनै विवरण खुलाएको छैन तर सेयर बजारमा सूचीकृत यस कम्पनीसँग भ्रष्टाचार मुद्दाको कुनै साइनो नभएको र यसबारे थप औपचारिक सूचना प्राप्त नगरेको पनि बताएको छ ।

चेन भने सार्वजनिक रुपमा देखा परेका छैनन् । उनी एकाएक बेपत्ता भएपछि विभिन्न किसिमका चर्चा परिचर्चा भइरहेको छ । सरकारले भ्रष्टाचार विरोधी अभियान सञ्चालन गरिरहेकाले कतै उनी नियामकको निगरानीमा परेका त हैनन् भन्ने अडकल बाजी पनि गर्न थालिएको छ । अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरुले ती दुबैलाई नियामकले भ्रष्टाचारको आरोपमा पक्राउ गरेको हुनसक्ने समाचार छापेका छन् ।

त्यसो त समय-समयमा चीनमा रहस्यमय तरिकाले हाई–प्रोफाइल कार्यकारी प्रमुखहरू बेपत्ता हुने गरेका छन् । फाइनान्सियल टाइम्सले चाहिं अपु्ष्ट स्रोतलाई उद्धृत गर्दै नियामकले चेनलाई दोउयुमा पोर्नोग्राफी र जुवा सामग्री समावेश गरेको आरोपमा पक्राउ गरेको बताएको छ । जवकि यी दुबै चीनमा अवैध र प्रतिबन्धित् छन् । 

अपुष्ट खबर अनुसार भ्रष्टाचार विरोधी नियामकले उनीमाथि छानबिन गरिरहेको छ ।तर कुन नियामक वा अधिकारीहरूले अनुसन्धानमा राखेका हुन् भन्नेबारे समाचारहरूमा केहि उल्लेख छैन । उता कम्पनीले भने आफ्नो कार्यकारी अधिकृतको बारे विभिन्न अड्कलबाजी आइरहेपछि घटनाबारे नयाँ जानकारी वा गतिविधि आउने बित्तिकै बताउने बताएको छ ।

चेन यसअघि अगस्टको अन्त्यमा कम्पनीको त्रैमासिक प्रतिवेदन सार्वजनिक गर्ने बेलामा देखिएका थिए । उनको कम्पनीलाई एमाजनको ट्विच सेवाको चिनियाँ भर्सनको रुपमा हेरिन्छ । दोउयू चीनकै ठूलो प्रविधि कम्पनी टेन्सेन्टको संस्थापक सेयरधनी पनि हो । उक्त कम्पनीको बजार पूँजीकरण २६८ लाख अमेरिकी डलर छ । 

नियामकहरुले चीनका चार ठूला बैंकमध्ये एक इन्डष्ट्रियल एन्ड कमर्शियल बैंक अफ चाइना (आईसीबीसी) का पूर्व वरिष्ठ कार्यकारी जाङ होङ्लीमाथि पनि छानबिन गरिरहेको छ।  गत मे महिनामा बैंकर बाओ फान पनि पक्राउ परेका थिए । केहिसाता अघि मात्र बैंक अफ चाइना(बीओसी) का पूर्व अध्यक्ष लिउ लियान्ज घूस लिएको र गैरकानूनी रुपमा ऋण प्रवाह गरेको आरोपमा परेका थिए।

उनी चीनका सिनियर बैंकरमध्येका एक हुन् । गत वर्ष अनलाइन कम्पनी अलिबाबाका संस्थापक ज्याक मा पनि पक्राउ परेका थिए । उनले त नियामकको सार्वजनिक रुपमा नै आलोचना गरेका थिए । उनी पनि तीन महिनासम्म सार्वजनिक जीवनबाट बेपत्ता थिए ।

उनको माउ कम्पनीमात्र होइन सहायक कम्पनीहरुमाथि त अहिले पनि नियामकले कडानिगरानी गरिरहेको छ । चालू वित्त वर्षमा वर्षमा चिनियाँ अधिकारीहरूले  बैंक र प्रविधि उद्योगका अरु धेरै कार्यकारीहरुलाई हिरासतमा लिएका छन् । कयौं छानबिन अन्तर्गत छन् भने कतिपयलाई जरिवाना गरिएको छ। -विभिन्न एजेन्सीहरुको सहयोगमा