काठमाण्डौ । छिमेक लघुवित्त विकास बैंक लिमीटेडले आफ्ना सेयरधनीलाई मालामाल गराउने गरी लाभांशको घोषणा गरेको छ । 

यो माइक्रो फाइनान्स कम्पनीले आर्थिक वर्ष २०७३/७४ को नाफाबाट १९.८९ प्रतिशत बोनस सेयर र २५.११ प्रतिशत नगद लाभांश वितरणको निर्णय गरेको हो । यो कम्पनीले बोनस सेयर प्रयोजनका लागि आवश्यक रकमसहित जोडेर कुल २० करोड ९४ लाख २ हजार ५ सय १५ रुपैयाँ नगद लाभांश वितरण गर्नेछ । यस्तै, १६ करोड ५९ लाख २९ हजार ३ सय रुपैयाँ बराबरको बोनस सेयर वितरण गर्नेछ । 

भदौ २२ गते बसेको कम्पनीको १९७ औं बोर्ड बैठकले यस्तो निर्णय गरेको बताइएको छ । 

यो निर्णय नियामक नेपाल राष्ट्रबैंक र कम्पनीको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि कार्यान्वयनमा आउनेछ । 

गत वर्ष यो माइक्रोफाइनान्स कम्पनीले सेयरधनीलाई ४० प्रतिशत बोनस सेयर र १२.७  प्रतिशत नगद लाभांश वितरण गरेको थियो । 

छिमेक लघुवित्तले आर्थिक वर्ष २०७३/७४ मा ५७ करोड ६४ लाख खूद नाफा आर्जन गरेको थियो । यो कम्पनीको हालको चुक्तापूँजी ८३ करोड ४० लाख रुपैयाँ रहेको छ । बोनस सेयर वितरणपछि ९९ करोड २५ लाखको उचाईमा पुुग्नेछ ।