काठमाण्डौ । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमीटेडको लाभांश सम्बन्धी प्रस्तावमा चलखेल भएको देखिएको छ । 

यो कम्पनीले आफ्ना सेयरधनीलाई २० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि आवश्यक नगद पनि लाभांशको रुपमा वितरण गर्ने हिजो ४ः१५ बजे निर्णय गरेको थियो । 

कम्पनीहरुको लाभांश सम्बन्धी यस्ता निर्णय सकेसम्म चाँडो हाल्नुपर्ने र भरसक बजार सुरु हुनुअघि वा पछि मात्रै हाल्नुपर्ने नियम भए पनि नेप्सेले भने बजार सुरु भएको १५ मिनेटपछि मात्रै यो निर्णय आएको भन्दै सूचना प्रकाशन गरेको छ । 

बजार सुरु भएको १५ मिनेटभित्र कम्पनीको तर्फबाट लाभांश सम्बन्धी सूचनामा चलखेल गरी नेप्सेलाई जानकारी दिइएको देखिएको हो । 

अघिल्लो दिन ४ः१५ बजे भएको निर्णय आज कार्यालय खुलेलगत्तै १० बजे नै पठाउन सकिने अवस्था भए पनि जनउत्थानले व्यापक चलखेल गरी ढिलो मात्र सूचना सम्प्रेषण गरेको देखिएको छ । 

नेप्सेले पनि बजार खुलेपछि आएको सूचना जस्ताको तस्तै प्रकाशन गर्ने परिपाटीले यस्तो चलखेल पछिल्लो समय बढ्न थालेका छन् । 

जनउत्थानको माघ १४ गते ४ः१५ बजे बसेको संचालक समितिको १२७ औं बैैठकले आर्थिक वर्ष २०७४/७५ को मुनाफाबाट सेयरधनीलाई हाल कायम २ करोड ८८ लाख रुपैयाँको २० प्रतिशतले हुन आउने ५७ लाख ६० हजार बराबरको बोनस सेयर र कर प्रयोजनका लागि ३ लाख ३ हजार १ सय ५७ रुपैयाँ बराबरको नगद लाभांश वितरणको प्रस्ताव गरेको हो । 

यो कम्पनीको गत साधारणसभाको निर्णयअनुसार हकप्रद सेयर प्रक्रियामा रहेको र सो सेयर जारीपछि कायम हुने चुक्तापूँजीको चाहि १० प्रतिशतको दरले बोनस सेयर वितरण हुने बताइएको छ । 

संचालक समितिको यो प्रस्ताव नेपाल राष्ट्रबैंकबाट स्वीकृत भएपछि र कम्पनीको वार्षिक साधारणसभाबाट पारित भएपछि कार्यान्वयनमा आउनेछ ।