काठमाण्डौ । जनता बैंक नेपाल पनि तेश्रो त्रैमासमा अर्ब क्लबमा प्रवेश गरेको छ । यो बैंकले समीक्षा अवधिमा १ अर्ब २ करोड खूद नाफा आर्जन गरेको हो । अघिल्लो वर्षको यही अवधिको तुलनामा बैंकको नाफा ६०.५६ प्रतिशतले बढेको देखिएको छ । 

बैंकले ९४ करोड २३ लाखमा सीमित संचालन मुनाफालाई बढाएर १ अर्ब ४७ करोडको उचाई चुमाएको छ भने व्यवसाय विस्तारमा आक्रामक बनेका कारण खूद ब्याज आम्दानी ४६.६१ प्रतिशतले बढेर २ अर्ब ४५ करोडको उचाईमा पुगेको छ । 

समीक्षा अवधिमा बैंकले ७० अर्ब ४४ करोड बढी निक्षेप संकलन गरी ६४ अर्ब ७० करोड बढी कर्जा परिचालन गरेको छ । अघिल्लो वर्षको यही अवधिको तुलनामा निक्षेप र कर्जातर्फ बैंकले क्रमशः २०.७८ र २२.५६ प्रतिशतको प्रगति गरेको देखिन्छ । 

बैंकले अघिल्लो वर्षसम्म १ अर्ब ३४ करोडमा सीमित रिजर्बको आकार बढाई यो वर्ष १ अर्ब ७५ करोडको उचाई चुमाएको छ भने १.९५ प्रतिशतको अनुपातमा रहेको खराब कर्जालाई घटाएर १.२१ प्रतिशतको अनुपातमा झार्ने सफलता पाएको छ।

अघिल्लो वर्ष ७.९८ प्रतिशत रहेको कस्ट अफ फण्ड घटेर ७.६६ प्रतिशतमा सीमित भएको छ भने ११.६६ प्रतिशत रहेको आधार दरलाई घटाएर १०.५२ प्रतिशतमा सीमित गर्न सकेको देखिन्छ ।

खूद नाफामा राम्रो प्रगति भएका कारण बैंकको वार्षिकीकृत प्रतिसेयर आम्दानी(इपीएस)मा  बैंकले ६०.५६ प्रतिशतको छलाङ मारेको छ । अघिल्लो वर्षको यही अवधिमा १०.६३ रुपैयाँ रहेको इपीएस बढेर १७.०६ रुपैयाँको उचाईमा पुगेको हो । 

समीक्षा अवधिमा बैंकको प्रतिसेयर नेटवर्थ १२२.६९ रुपैयाँ र मूल्य आम्दानी अनुपात १०.७८ गुणा कायम भएको छ ।