काठमाण्डौ । चीनको सबैभन्दा ठूलो इकमर्स अलीबाबाको संस्थापक ज्याक मा एशियाका सबैभन्दा धनी व्यक्ति हुन् । उनी विगत लामो समयदेखि विश्वका धनीहरुमध्येमा पर्छन् । ब्लुमबर्गको बिलेनियर्स इण्डेक्सका अनुसार उनको कुल सम्पत्ति ४० अर्ब डलर रहेको छ । यस्तै, उनको कम्पनी अलिबाबाको मूल्य ४२० अर्ब डलर पुगेको छ ।

ज्याक माले आइतबार मात्र आफूले कम्पनीबाट रिटायर्ड हुने घोषणा गरेका छन् । न्यूयोर्क टाइम्समा दिएको एक अन्तरवार्तामा उनले भनेका छन् कि रिटायरमेन्टपछि उनी शिक्षा र समाजसेवामा केन्द्रीत हुनेछन् । अलिबाबामा सोमबार(१० सेप्टेम्बर)मा उनको अन्तिम दिन हुनेछ । तर, आश्चर्यको कुरा यो छ कि एशियाका सबैभन्दा धनी व्यक्ति बन्न सफल ज्याक मा तिनै  व्यक्ति हुन्, जो जीवनमा ३० पटक जागिरबाट रिजेक्ट भएका थिए । यो बिषयमा ज्याक माले भनेका छन् कि ३० पटक जागिरबाट रिजेक्ट भएपछि उनले आफ्नो विजिनेशमा असफलताका लागि सधैं तयार रहनुपर्ने पाठ सिकेका छन् ।

३० पटक रिजेक्ट
कलेजपछि ज्याक माले ३० वटा कम्पनीमा जागिर खाने प्रयास गरेका थिए । जब ज्याक माको  शहरमा केएफसीको शाखा खोलियो,  त्यहाँ समेत उनले जागिरका लागि आवेदन दिएका थिए, तर रिजेक्ट भए । केएफसीमा सँगैका २४ व्यक्तिले जागिर खाए, उनी एक मात्र पात्र थिए जो केएफसीको जागिरबाट रिजेक्ट भए । उनी  त्यसपछि प्रहरीमा भर्ति हुन चाहन्थे, यसका लागि आवेदन दिए, तर फेरि रिजेक्ट भए ।

एकपटक उनलाई आफ्नै भाईका कारणले समेत जागिर प्राप्त भएन । उनी र उनका भाई एक स्टार होटलको वेटरको जागिर खान घण्टौ लाइनमा बसेका थिए । तर, त्यहाँ पनि उनको भाईको नाम निस्कियो, ज्याक मा चाहि रिजेक्ट भए । त्यति मात्र होइन, ज्याकलाई प्रसिद्ध हावर्ड विश्वविद्यालयले १० पटकसम्म रिजेक्ट गरेको थियो ।

ज्याक मा पढाईमा पनि निकै कमजोर थिए । उनी कक्षा ५ मा २ पटक फेल भएका थिए भने ८ कक्षामा ३ पटक फेल भएका थिए । आज  उनै माको कम्पनी विश्वको इकमर्स कम्पनीमध्येकै सबैभन्दा  अगाडि रहेको छ ।

बिल गेट्स  वा स्टीभ जब्सजस्तै ज्याक माकसँग कम्प्युटर साइन्स पढेको अनुभव समेत थिएन । बच्चा  छँदा उनले कहिल्यै  कम्प्युटर चलाएनन् । गणित बिषयको १२० पूर्णांकमा उनले १ अंक मात्र ल्याएका थिए । १९८० मा उनले आफ्नै शहरको एक विद्यालयमा शिक्षकको रुपमा काम गर्न थाले । तीन वर्षपछि उनले यो जागिर छाडेर अनुवादको काम गर्ने एक कम्पनी स्थापना गरेका थिए ।

सन् १९९४ मा जब ज्याक मा विजिनेशको सिलसिलामा अमेरिका गएका थिए, त्यहाँ इन्टरनेट देखेर हैरानीमा  परेका थिए । त्यसबेला उनी कसरी एउटा कोठामा बसेको व्यक्ति विश्वभरका आफन्तसँग इन्टरनेटको माध्यमबाट जोडिएको होला भने आश्चर्यमा परेका थिए । त्यहाँबाट फर्किएपछि नै उनले चाइना पेज लञ्च गरेका थिए । यो नै चीनको पहिलो अनलाइन डाइरेक्टरी थियो ।

यसमा सफलता पाएसँगै चीनमा मा मिस्टर इन्टरनेटको नामबाट चर्चित बने । तर, अगाडिको बाटो सहज थिएन । चीनमा इन्टरनेट भित्र्याउन उनले त्यहाँको सकारको ध्यानाकर्षण गर्नु थियो । यो बेला चीनको इन्टरनेट दुनियाँको सुरुवाती चरण थियो र चीनका धेरै कम घरमा मात्रै कम्प्युटर हुन्थे ।

केही समयसम्म चम्किए पनि लगातार असफलता व्यहोर्न थालेपछि ज्याक माले चाइना पेज बन्द गरे र अलिबाबा तयारीमा लागेका थिए ।