काठमाण्डौ । लाभांश पारित र अन्य उपयुक्त वित्तीय संस्थासँग मर्जर प्रक्रिया थाल्ने मुख्य अजेन्डासहित जानकी फाइनान्स कम्पनी लिमिटेडले आफ्नो २३ औँ वार्षिक साधारणसभाको मिति र स्थान तय गरेको छ ।

कम्पनीको हिजो बुधबार बसेको सञ्चालक समितिको बैठकले वार्षिक साधारणसभा यही पुस २४ गते धनुषाको जनकपुरधामस्थित होटल मानकी इन्टरनेसनलमा आयोजना गर्ने निर्णय गरेको हो ।

सभामा गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई वितरण गर्ने भनी प्रस्ताव गरेको चुक्तापुँजीको कुल २३.१६ प्रतिशत लाभांश पारित हुनेछ । कम्पनीले गत आर्थिक वर्षका लागि सेयरधनीहरुलाई चुक्तापुँजी २२ प्रतिशतले हुन आउने १० करोड ८२ लाख ७० हजार ८६६ रुपैयाँबराबरको बोनस सेयर र १.१६ प्रतिशतले हुन आउने ५१ लाख ९८ हजार ४६७ रुपैयाँबराबरको नगद लाभांश (लाभांश कर प्रयोजनार्थ) वितरण गर्ने प्रस्ताव गरेको छ ।

जानकी फाइनान्स र अन्य उपयुक्त बैंक वा वित्तीय संस्थाहरु एक आपसमा गाभ्ने गाभिने वा प्राप्ति गर्न गराउन वा उपयुक्त देखिएको आवश्यक वैदेशिक रणनीति साझेदारीमा जानका लागि चल अचल सम्पत्ति तथा दायित्व र कारोबारको मूल्यांकन गर्न तथा गाभ्ने वा गाभिने तथा प्राप्ति गर्ने सम्बन्धमा प्रारम्भिक तथा अन्तिम सम्झौत गर्न र सो प्रक्रिया पूरा गर्न आवश्यक सम्पूर्ण कार्य गर्नका लागि सञ्चालक समितिलाई अख्तियार प्रदान गर्ने विशेष प्रस्ताव पनि सभाले पारित गर्नेछ ।

यसैगरी बोनस सेयर जारी गरेपछि वृद्धि हुने चुक्तापुँजीपछि संस्थाको प्रबन्धपत्र र निममावली संशोधन गर्ने प्रस्ताव पनि सभाले पारित गर्नेछ ।

सभामा वार्षिक, आर्थिकलगायतका महत्वपूर्ण प्रतिवेदनहरु छलफल गरी पारित हुनेछन् ।

साधारणसभा र लाभांश प्रयोजनका लागि कम्पनीले पुस १४ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । यसको अर्थ साधारणसभा भाग लिन र लाभांश पाउन योग्य हुन पुस १३ गतेसम्म सेयरधनी कायम भइसक्नुपर्ने छ।