काठमाण्डौ । जीवन विकास लघुवित्त वित्तीय संस्था लिमीटेडले लाभांश घोषणा गरेको छ । 

यो वित्तीय संस्थाको शनिवार बसेको सञ्चालक समितिको ७२ औं बैठकले आर्थिक वर्ष २०७८-७९ का लागि लाभांश घोषणा गरेको हो । 

सो आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट लगानीकर्तालाई हालको चुक्तापूँजीको २८ प्रतिशत बोनस सेयर र कर प्रयोजनलाई समेत गरी कुल ९.३६८४ प्रतिशत नगद लाभांश वितरणको घोषणा गरेको हो । यसरी कम्पनीले बोनस र नगद गरी कुल ३७.३६८४ प्रतिशत लाभांश वितरणको निर्णय गरेको छ । 

हाल यो संस्थाको चुक्तापूँजी १ अर्ब ३ करोड ४२ लाख ८० हजार रुपैयाँ रहेको छ । यो हिसाबले संस्थाले २८ करोड ९५ लाख ९८ हजार ४०० रुपैयाँ बराबरको बोनस सेयर र ९ करोड ६८ लाख ९५ हजार ७०५ रुपैयाँ बराबरको नगद लाभांश वितरणको प्रस्ताव गरेको हो । 

प्रस्तावित लाभांश नेपाल राष्ट्रबैंकबाट स्वीकृत भएपछि र कम्पनीको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि सेयरधनीले पाउनेछन् । 

प्रस्तावित बोनस सेयर वितरणपछि जीवन विकास लघुवित्तको चुक्तापूँजी बढेर १ अर्ब ३२ करोडभन्दा बढी हुनेछ ।