काठमाण्डौ । विश्व शीर्ष अर्बपति एलन मस्कले चाँडै नै आफ्नो सामाजिक सञ्जाल एक्स (ट्विटर) मा भिडियो र अडियो कलको सुविधा उपलब्ध हुने घोषणा गरेका छन्।

यो नयाँ फिचर एन्ड्रोइड, आईओएस, पीसी र म्याकमा काम गर्ने मस्कले जानकारी गराएका हुन्। उनले लेखेका छन्, ‘एक्समा अडियो र भिडियो कलिङ सुविधा चाँडै आउँदैछ। यसले आईओएस, एन्ड्रोइड, एप्पल म्याक र माइक्रोसफ्ट कम्प्युटरमा काम गर्नेछ।’

यसका लागि कुनै फोन नम्बर आवश्यक नपर्ने पनि मस्कले बताएका छन्। ‘एक्स यी कलहरुका लागि ग्लोबल एड्रेस बुक हुनेछ। यो यस सुविधाको सबैभन्दा विशेषता हुनेछ’, मस्कले लेखेका छन्। 

यद्यपि, यो सुविधा पहिले नै ह्वाट्सएप, फेसबुक मेसेन्जर, इन्स्टाग्रामजस्ता मेसेजिङ एपमा उपलब्ध छ। ट्विटरमा भिडियो तथा अडियो कल गर्ने सुविधा कहिलेसम्म उपलब्ध हुने भन्नेबारे मस्क वा ट्विटरले कुनै जानकारी भने दिएको छैन।