काठमाण्डौ । विश्वका सबैभन्दा धनीव्यक्ति एलन मस्कले धेरै विवादपछि गत वर्ष अक्टोबरमा ट्विटर किनेका थिए। तर, यो माइक्रोब्लगिङ साइट किन्नु उनका लागि महँगो साबित भइरहेको छ। 

ट्विटर किनेदेखि मस्कको नेटवर्थ र उनको कम्पनी टेस्लाको बजारपुँजी पछिल्लो १ वर्षमा १०० अर्ब डलरले घटेको छ। यस अवधिमा मस्कको कुल सम्पत्ति १९ अर्ब डलरले घटेको छ भने टेस्लाको ८० अर्ब डलरको बजारपुँजी स्वाहा भएको छ। 

यतिमात्र होइन ट्विटरको मूल्य पनि आधा घटेको छ। मस्कले ४४ अर्ब डलरमा किनेका थिए तर अहिले यसको मूल्य १९ अर्ब डलरमा झरेको छ।

मस्कले ट्विटरको नाम एक्स राखेका छन् र अन्य थुप्रै नियममा पनि परिवर्तन गरेको छ। तर, यस अवधिमा कम्पनीको विज्ञापनबाट हुने आम्दानी आधाभन्दा कममा झरेको छ। मस्कले कम्पनीको कमाण्ड लिएपछि यसको बिक्री ६० प्रतिशतले घटेको छ। 

यसका साथै कम्पनीले वार्षिक १ अर्ब २० करोड डलर ऋणको ब्याज तिर्नुपर्ने हुन्छ। मस्कको जोड विज्ञापनभन्दा सशुल्क सदस्यतामा छ। तर, अहिलेसम्म मासिक प्रिमियम सेवाका लागि १ प्रतिशतमात्र प्रयोगकर्ताले साइन अप गरेका छन्। यसबाट कम्पनीले वार्षिक १२ करोड डलरमात्र आम्दानी गर्नेछ। –एजेन्सी