काठमाण्डौ । देशकै ठूलो फाइनान्स कम्पनी गुड्विल फाइनान्सको नाफामा सामान्य वृद्धि भएको छ । 

चालु आर्थिक वर्षको दोश्रो त्रैमासमा अघिल्लो वर्षको सोही अवधिको तुलनामा यो फाइनान्सले खूद नाफातर्फ २५ प्रतिशतको हाराहारीमा वृद्धि हासिल गरेको हो । 

कम्पनीले आइतबार प्रकाशित गरेको वित्तीय विवरणअनुसार अघिल्लो वर्षको सो अवधिमा २ करोड ३८ लाख रुपैयाँ रहेको खूद नाफा बढाएर २ करोड ९७ लाख रुपैयाँको उचाईमा पुुगेको हो। 

यो कम्पनीको खूद ब्याज आम्दानीतर्फ पनि राम्रो प्रगति भएको छ । अघिल्लो वर्षको सो अवधिमा ५ करोड ३ लाख रुपैयाँमा सीमित खूद ब्याज आम्दानी यो वर्ष वृद्धि भई ८ करोड ५० लाखको उचाईमा पुुगेको हो । 

यो फाइनान्स कम्पनीले ३ अर्ब ८६ करोड निक्षेप संकलन गरी ३ अर्ब २७ करोड कर्जा प्रवाह गरेको छ । अघिल्लो वर्ष यही अवधिमा यो कम्पनीले ३ अर्ब ३६ करोड निक्षेप संकलन गरी २ अर्ब ७८ करोड कर्जा प्रवाह गरेको थियो । 

यो फाइनान्सको प्रति सेयर आम्दानीतर्फ सामान्य गिरावट आएको छ । अघिल्लो वर्षको दोश्रो त्रैमासमा प्रतिसेयर आम्दानी १३ रुपैयाँ १२ पैसा रहेकोमा यो वर्ष १३ रुपैयाँ ११ पैसा कायम भएको हो । यो कम्पनीले आर्थिक वर्ष २०७२/७३ मा कमाएको नाफाबाट आफ्ना सेयरधनीलाई २५ प्रतिशत लाभांश वितरण गरेको थियो । 

गुड्विल फाइनान्सको प्रतिसेयर नेटवर्थ  १२७ रुपैयाँ ८९ पैसा र मूल्य आम्दानी अनुपात ४३.४८ गुणा कायम भएको छ ।