काठमाण्डौ । कमजोर नेतृत्वका कारण समृद्धि फाइनान्स निरन्तर ओरालो लागिरहेको छ । कम्पनी संस्थागत सुशासनमा कमजोर छ भने विगतका केही ठूला घोटालाका कारण वित्तीय रुपमा उठ्न अझै समय लाग्ने देखिन्छ । 

यो कम्पनी एकातिर वित्तीय रुपमा कमजोर बन्दै गएको छ भने अर्कोतर्फ निरन्तर घाटामा गएका कारण लगानीकर्ता पनि यसप्रति सकारात्मक छैनन् । प्रत्येक त्रैमासमा यो कम्पनीको रिपोर्टले लगानीकर्तालाई निराश बनाउने गर्छ ।

वित्तीय प्रदर्शनमा कमजोर त छ नै कम्पनीबाट प्रवाह भएका कतिपय कर्जाहरुमा उस्तै कैफियत देखिएको छ । यो कम्पनीलाई पछिल्लो समय नेपाल राष्ट्रबैंकले समेत निगरानी राखेर हेरिरहेको बैंक तथा वित्तीय संस्था नियमन विभागका एक अधिकारीले जानकारी दिएका छन् ।

‘समृद्धि फाइनान्समा धेरै खालका गडबडीहरु रैछन् । हुन त यो कम्पनीमा यसअघि पनि केही ठूला समस्या आएका थिए । नेतृत्वले वित्तीय अवस्था र संस्थागत सुशासनमा सुधार गर्छौं भनेर प्रतिबद्धता पनि जनाएकै थिए । तर पछिल्लो समयको ताल फेरि उस्तै देखिएको भन्ने छ । उच्च अधिकारी व्यक्तिगत स्वार्थमा केन्द्रीत हुन थालेका रिपोर्टहरु आएका छन्।’ केन्द्रीय बैंकका ती अधिकारीले भने–‘फाइनान्सका उच्च अधिकारीहरुकै संलग्नतामा स्वीकृत केही कर्जाहरु शंकास्पद रहेका उजुरीहरु आएका छन् । त्यसको अध्ययन थालिएको छ।’ 

संस्थागत सुशासनमा देखिएका विगतका गडबडीहरु फेरि दोहोरिन थालेपछि र प्रवाह भएका लोनमै समस्या आउन थालेपछि कम्पनीको अवस्था दिनप्रतिदिन कमजोर बन्दै गएको छ । यसका लागि उसका पछिल्ला २ वटा त्रैमासको वित्तीय प्रतिवेदन हेरे पुग्छ । 

कस्ता थिए प्रतिवेदन ?
कम्पनी पछिल्लो केही महिना निरन्तर घाटामा गएको छ । विगतका केही ठूला घोटालाहरुको व्यवस्थापनका लागि ठूलो रकम प्रभिजन गर्नुपर्दा र नेतृत्व व्यवसाय विस्तारमा भन्दा व्यक्तिगत स्वार्थको पछि लाग्दा अवस्थामा खासै सुधार आउन नसकेको हो । 

चालु आर्थिक वर्षको पहिलो त्रैमासमै पनि यो कम्पनी करिब एक करोड रुपैयाँले खूद घाटामा गएको छ । 

अघिल्लो आर्थिक वर्षको यही अवधिमा त ३ करोडभन्दा बढीले खूद घाटामा थियो । घाटैघाटाले थिचिएको कम्पनी सुध्रिनुको साटो पछिल्लो समय बिग्रिन थालेको र यसको रेपुटेसन समेत बिग्रिरहेकोमा कर्मचारीहरु स्वयम् पनि चिन्तित देखिन्छन् । 

यो कम्पनीको नेतृत्व कतिसम्म कमजोर छ भन्ने कुरा पहिलो त्रैमासका केही वित्तीय सूचकले समेत प्रष्ट्याउँछ । जस्तो समीक्षा अवधिमा यो कम्पनीले १ करोड ८२ लाख रुपैयाँ मात्रै खूद ब्याज आम्दानी गर्यो । जब कि अघिल्लो वर्ष यही अवधिमा २ करोड ४१ लाख बढी खूद ब्याज आम्दानी गरेको थियो । यसरी हेर्दा कम्पनीको व्यवसाय गत वर्षको भन्दा झनै संकुचनमा परेको र नेतृत्वको कमजोरीका कारण मुख्य आम्दानीमा पहिरो जान थालेको देखिएको छ । 

पहिलो त्रैमासमा कम्पनी १ करोड ३६ लाख बढीले सञ्चालन घाटामा रहेको छ ।

पहिलो त्रैमासमा कम्पनीको वार्षिकीकृत इपीएस ४.८३ रुपैयाँले नेगेटिभ रहेको छ । मूल्य आम्दानी अनुपात ५५.२२ गुणाले नेगेटिभ छ भने दोश्रो बजारमा ३०० रुपैयाँ भन्दा बढी मूल्य प्रतिकित्तामा कारोबार भइरहेको यो कम्पनीको प्रतिसेयर नेटवर्थ ७४.७२ रुपैयाँको दयनीय अवस्थामा छ । 

कम्पनीले म्यानेज गरेर खराब कर्जा अनुपात ४.७९ प्रतिशत देखाएको स्रोत बताउँछ । 

अघिल्लो वर्ष पनि उस्तै
यो कम्पनीको अवस्था अघिल्लो आर्थिक वर्षमा पनि उस्तै थियो । यो अवधिमा कम्पनीको वितरणयोग्य मुनाफा ४४ करोडले नेगेटिभ बन्न पुगेको थियो । 

अघिल्लो आर्थिक वर्षको चौथो त्रैमासको वित्तीय विवरणअनुसार यो कम्पनीको इपीएस ९.९५ रुपैयाँले नेगेटिभ, मूल्य आम्दानी अनुपात ३२.४८ गुणाले नेगेटिभ र प्रतिसेयर नेटवर्थ ७६.८६ रुपैयाँमा सीमित थियो । 

कुल ८१ करोड ८९ लाख चुक्तापूँजी भएको यो कम्पनी अघिल्लो आर्थिक वर्षको चौथो त्रैमाससम्म करिब ८ करोडले घाटामा रहेको थियो । करिब ९ करोडले सञ्चालन घाटामा थियो । 

कम्पनीमा चौथो त्रैमाससम्म खराब कर्जाको अनुपात ४.५९ प्रतिशत थियो । 

खाली हात
कम्पनी निरन्तर घाटामा गएपछि, संस्थागत सुशासनमा सुधार नभएपछि, उच्च नेतृत्व व्यवसाय विस्तारमा भन्दा व्यक्तिगत लाभका पछि दौडिएपछि लगानीकर्ताले राम्रो रिटर्न पाउने आशा गर्नु बेकार हुन्छ । गत आर्थिक वर्षको नाफाबाट यो कम्पनीका लगानीकर्ताको सवालमा समेत यही लागू भयो । 

समृद्धि फाइनान्सको कमजोर नेतृत्वका कारण यसपटक पनि लगानीकर्ताले खाली हात नै चित्त बुझाउनुपर्ने अवस्था बनेको छ । 
यो कम्पनीले पुस २८ गते आफ्नो २२ औं वार्षिक साधारणसभा हेटौडामा आह्वान गरेको छ । 

सभामा लाभांशसम्बन्धी कुनै प्रस्ताव छैन । संस्थापक समूहको तर्फबाट एकजना सञ्चालक नियुक्ति लगायतका नियमित अजेण्डा मात्र समेटिएका छन् । 

विकल्प मर्जर वा टेकओभर
यो कम्पनीको पछिल्लो ताल हेर्दा कम्पनी कि कुनै कम्पनीमा बिलय हुनुपर्ने वा केन्द्रीय बैंकले टेकओभर गरेर पुनः वित्तीय सुधार गर्नुपर्ने आवश्यकता देखिन्छ । 

एजीएममासम्भावित मर्जर वा बिलयको अजेण्डा समेत राखिएको छ । यो कम्पनी कुनै राम्रो कम्पनीमा बिलय भएमा मात्र सेयरधनीको हित हुने देखिन्छ । नभए कम्पनीको नाममा सीमित उच्च अधिकारीहरुले रजाइँ गरिरहने, तर सेयरधनीले वर्षौ वर्षसम्म खाली हात बस्नुपर्ने अवस्था बन्नसक्ने देखिन्छ ।