Nepal Rastra Bank and liquidity tight
काठमाण्डौ । लगानीयोग्य रकम(तरलता)को समस्याका कारण बैंक तथा बित्तीय संस्थाहरुले ठूला कर्जा प्रवाह बन्द गरिदिएका छन् । तरलताको समस्याकै कारण कर्जाका कतिपय प्रोडक्टहरु समेत बन्द भएका छन् । यही समस्याले सेयर धितो कर्जा लगायतमा बैंकहरुले अग्रसरता देखाउन छाडेका छन् ।
त्यति मात्र होइन, तरलता समस्याकै कारण बैंक तथा बित्तीय संस्थाहरुले निक्षेप आकर्षित गर्न घोषित रुपमा १० प्रतिशत र अघोषित रुपमा ११ प्रतिशतसम्म ब्याजदरको अफर दिन थालिसकेका छन् । बैंकर एशोसिएसन र डेभलपमेन्ट बैंकर्स संघले ब्याजदरको क्यापलाई ८.५ प्रतिशतसम्म सीमित राख्ने आन्तरिक सहमतिगरे पनि उनीहरुले त्यसलाई कायम राख्न सकेनन् । जसका कारण ब्याजदरको अफर १० प्रतिशत(घोषित रुपमा)सम्म पुुगिसकेको छ । यी सबै कुरा सरसर्ती पढ्दा बैंक तथा बित्तीय संस्थाहरुमा तरलताको समस्या भएको भन्ने लाग्छ । तर नियामक नेपाल राष्ट्रबैंकले भने यो कुरा मान्दैन । त्यहाँका कतिपय अधिकारीहरु त ब्याजदरमा बार्गेन गर्नकै लागि बैंकहरुले भएको निक्षेप पनि लुकाएकासम्म आरोप लगाउँछन । तर ठीक विपरीत बैंकरहरु भने तरलता समस्या(संकुचन)का कारण चाहे जसरी कर्जा प्रवाह गर्न नपाइएको गुनासो गर्छन् ।
''सरकारी ढुकुटीबाट पैसा खर्च नहुँदा, रेमिटान्सको ग्रोथ नबढ्दा, भूकम्पका कारण रोकिएको कर्जाको डिमाण्ड ह्वात्तै बढ्दा तरलता संकुचनको समस्या देखिएको हो । राष्ट्रबैंकहरुले वाणिज्य बैंकलाई कर्पोरेट निक्षेप ५० प्रतशित भन्दा बढी राख्न नपाइने नयाँ व्यवस्था गर्दा समेत यो समस्या आएको देखिन्छ ।''
-सिद्धार्थ डेभलपमेन्ट बैंकका सीइओ अजय मिश्र
तरलताको समस्या हो वा समस्या होइन भन्ने तर्कहरुकाबीच नेपाल राष्ट्रबैंकले २ दिनअघि १ अर्बको रिभर्स रिपो जारी गर्यो । त्यसमा २ अर्ब बढीको बोल पर्यो । अर्कोतर्फ राष्ट्रबैंकले बैकिङ च्यानलमा १३ अर्ब तरलता बढी भएको भन्दै लामो समयका लागि समेत निक्षेप आकर्षित गर्न बित्तीय उपकरण जारी गरिसकेको छ ।
एकातिर बैंकरहरुले तरलताको समस्या दर्शाइरहँदा राष्ट्रबैंकले चाहि १३ अर्ब बढी देखिएको तरलता खिच्नका लागि धमाधम उपकरण जारी गर्दैछ । दुुई पक्षको परस्पर विरोधाभासपूर्ण कुरा(दन्तबझान) सुनेर सर्वसाधारणहरु भने बिलखबन्दमा छन् । राष्ट्रबैंकको कुरा सुन्दा बजारमा तरलता छैन भन्ने लाग्छ, तर बैंकमा ठूलो कर्जा लिन जाँदा पैसा छैन भनेर फर्काइन्छ, आखिर के भइरहेको होला यस्तो ? हामीले केही बैंकर र राष्ट्रबैंकका अधिकारीसँग गरेको कुराकानी यहाँ प्रस्तुत गरेका छौ :
ठूलो कर्जाका लागि पैसा छैन
नेपाल बैंकर्स एशोसिएसनका उपाध्यक्ष तथा नेपाल बंगलादेश बैंकका सीइओ ज्ञानेन्द्र ढुंगानाले सीआरआर मेन्टेन गर्न तरलता प्रशस्त भए पनि लगानीयोग्य रकमको चाहि अभाव नै रहेको दाबी गरे । ‘पैसा हुँदा हामीले लगानी गर्ने नै हो ।’ उनले भने–‘लगानीयोग्य रकमको अभाव भएकै कारण धेरै बैंकहरुले चाहेजसरी लगानी गर्न सकेका छैनन् ।’ उनका अनुसार तरलता समस्याका कारण धेरै बैंकहरुले ठूला कर्जा प्रवाह गर्न छाडेका छन् । यो सबै समस्या तरलताको समस्याकै कारण भएको उनले प्रष्ट्याए ।
‘हाम्रो सिस्टममा तरलता अभाव होइन, १३ अर्ब बढी तरलता छ ।’
-नेपाल राष्ट्रबैंकका प्रवक्ता नारायण पौडेल
तरलता संकुुचनकै कारण बैंक तथा बित्तीय संस्थाहरुले निक्षेप आकर्षित गर्न ब्याजदर बढाउनुपरेको सिद्धार्थ डेभलपमेन्ट बैंकका सीइओ अजय मिश्रले बताए । ‘तरलता अभाव नै भइहालेको होइन, संकुचनको समस्या चाहि भएको हो ।’ उनले भने–‘कतिपय बैंकहरुले तरलताको समस्याकै कारण निक्षेप आकर्षित गर्न १० प्रतिशतसम्म ब्याजदरको अफर दिएका छन् ।’ मिश्रका अनुसार सरकारी ढुकुटीबाट पैसा खर्च नहुँदा, रेमिटान्सको ग्रोथ नबढ्दा, भूकम्पका कारण रोकिएको कर्जाको डिमाण्ड ह्वात्तै बढ्दा तरलता संकुचनको समस्या देखिएको हो । ‘राष्ट्रबैंकहरुले वाणिज्य बैंकलाई कर्पोरेट निक्षेप ५० प्रतशित भन्दा बढी राख्न नपाइने नयाँ व्यवस्था गर्दा समेत यो समस्या आएको देखिन्छ ।’ उनले थपे–‘तरलता थोरै टाइट जस्तो देखिएको छ । तर यो समस्या माघसम्म मात्र रहला, त्यही भएर बैंकहरुले पनि सर्ट टमका लागि निक्षेप आकर्षित गर्ने अफर सार्वजनिक गरेका हुन् ।’
सिस्टममा १३ अर्ब बढी तरलता छ, बैंकर झूठा हुन्
नेपाल राष्ट्रबैंकका प्रवक्ता नारायण पौडेलले कतिपय बैंकहरुले भनेजस्तो तरलताको समस्या नभएको जिकिर गरेका छन् । उनले बजारमा भन्ने कुरा र आफूहरुले जारी राखेको दैनिक अनुुगमनको तथ्यांकमा आकाशजमिनको फरक रहेको दाबी गरे । ‘उदाहरणका लागि पुस ५ गतेको हाम्रो फ्रेमवर्कले बजारमा १३ अर्ब बढी तरलता भएको देखाएको छ ।’ बिजशालासँग कुरा गर्दै उनले भने–‘यही कारण राष्ट्रबैंकले दुुई चरणमा निक्षेप खिच्नका लागि रिभर्स रिपो जारी गरेको हो । तरलताको अभाव भएकै थियो भने किन निक्षेप खिच्नुपथ्र्यो ?’
१ अर्बको रिभर्स रिपो जारी गर्दा ४ वटा संस्था सहभागी भएका र १ अर्बको रिभर्स रिपोमा २ अर्ब ८० करोडको बोल परेकोबाट समेत तरलताको समस्या छ भन्ने कुरा गलत प्रमाणित हुने उनको तर्क छ । ‘कुनै बैंक विशेषमा यो समस्या हुनसक्ला, तर हामीले समग्र अवस्था हेर्ने हो ।’ पौडेलले थपे–‘हाम्रो सिस्टममा तरलता अभाव होइन, १३ अर्ब बढी तरलता छ ।’
वाणिज्य बैंकहरुले राष्ट्रबैंकमा सिआरआर प्रयोजनका लागि ६ प्रतिशत निक्षेप राख्ने र त्यसमा पनि उनीहरुको दैनिक अपरेसन प्रभावित नहोस् भन्ने उद्देश्यले १.२५ प्रतिशत छुट्याइने गरिएको उल्लेख गर्दै भने–‘त्यसपछि हामीले बढी भयो कि घटी भयो भनेर हेर्छौ । बैंकहरुले सीआरआर मेन्टेन गर्नुपर्ने भन्दा पनि बढी रकम राष्ट्रबैंकमा राखेका छन् । यसरी हिसाब गर्दा तरलता १३ अर्ब बढी देखिन्छ ।’
उनले अहिले तरलता समस्या वा अभाव नभई अधिक तरलताको अवस्थामा सुधार चाहि हुँदै आएको जिकिर गरे । ‘जुन किसिमको कुरा बजारमा आएको त्यो झूठ हो ।’ उनले भने–‘अधिक तरलताको अवस्था सुध्रदै गएको चाहि हो ।’
उता, केन्द्रीय बैंकको पब्लिक डेब्ट म्यानेजमेन्ट डिपार्टमेन्टका प्रमुुख त्रिलोचन पंगेनीले त बैंकहरुले ब्याजदरमा बार्गेन गर्नका लागि निक्षेप लुकाएका आरोप लगाए । यो सबै बैंकहरुको फट्याईं बोलेका हुन् ।‘ उनले भने–‘तरलताको कुनै समस्या छैन, बजारको हल्लाको पछि कुदेर हुँदैन ।’
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago