काठमाण्डौ । बैंकिङ प्रणालीमा अभाव रहेको तरलता केही सहज हुनसक्ने संकेतहरु देखा पर्न थालेका छन् । 

साउन र भदौंमा खास बढ्न नसकेको बैंकहरुको निक्षेप असोजमा भने ह्वात्तै बढेको हो । 

चुनाव सन्निकट रहेको र यसको व्यवस्थापनका लागि समेत थप रकम प्रणालीमा आउने  हुँदा आगामी दिनमा निक्षेप अझै बढ्नसक्ने अवस्था देखिन्छ । यस्तो अवस्था बन्यो भने तरलताको समस्या बिस्तारै कम हुँदै जाने अपेक्षा गर्न सकिन्छ । 

नेपाल बैंकर्स संघका अनुसार असोज लागेपछि बाणिज्य बैंकहरुको निक्षेपमा निकै राम्रो सुधार देखिएको छ । यो महिनामा मात्रै बैंकहरुको निक्षेप रु. ६२ अर्बले बढेको छ।

चालु आर्थिक वर्षको तीन महिनासम्म बैंकहरुले ६९ अर्ब निक्षेप संकलन गरेका थिए । यसमा असोज महिनाको मात्रै योगदान ६२ अर्ब रुपैयाँ रहेको छ । 

एक बैंकरका अनुसार बैंकहरुले ६ महिनासम्म कायम रहेको ब्याजदरको भद्र सहमति भङ्ग गरेपछि निक्षेपको ब्याजदर बढेको थियो । यसले समेत सेयर बजार र अन्यत्र भएको रकम जोखिमरहित रिटर्नका लागि मानिसले बैंकिङ प्रणालीमा भित्र्याएका कारण असोजमा निक्षेप ह्वात्तै बढेको हो । 

एनबीएका अनुसार असोज मसान्तसम्म कुल निक्षेप ४५ खर्ब ४७ अर्ब रुपैयाँ पुगेको छ।

यस्तै, बैंकहरुले चालु आर्थिक वर्षको तीन महिनाको अवधिमा कुल ५६ अर्ब कर्जा लगानी गरेका छन् । यसमा असोज महिनाको मात्रै योगदान ३० अर्ब रुपैयाँको छ । अब बैंकहरुको कुल ऋण लगानी बढेर ४२ खर्ब २० अर्ब पुगेको छ ।