Ajaya Mishra
►अजयकुमार मिश्र-(डेपुटी सीइओ):जनता बैंक नेपाल लिमीटेड
लगानीयोग्य पूँजीको अभावले अहिले देशका बैंक तथा बित्तीय संस्था ग्रस्त छन् । समाधान खोज्नुुअघि यस्तो समस्या के कारणले आयो भनेर कारणहरुको बिषयमा चर्चा गर्नु श्रेयस्कर हुन्छ ।
गत वर्ष झै यो वर्ष पनि पुस महिनामै लगानीयोग्य रकम अभावको समस्या बल्झिनुु पछाडिका मुख्य कारण हेरौं:
पहिलो, हरेक आर्थिक वर्षको पुस महिनामा स्वभाविक रुपमा क्रेडिट ग्रोथको रेट बढी नै हुन्छ । हामीले २–४ वर्षअघिदेखिको तथ्याङ्क हेर्यौ भने पनि यो कुरा देखिन्छ । यो बेला भनेको दशैंतिहार सकिइसकेको हुन्छ । आर्थिक गतिविधि बढेसँगै दोश्रो त्रैमासमा क्रेडिटको डिमाण्ड बढ्छ । डिमाण्ड बढ्यो, तर यो हिसाबले डिपोजिट ग्रोथ भएन । डिपोजिट ग्रोथ रेटभन्दा क्रेडिट ग्रोथ रेट झण्डै दोब्बर देखिएको छ । यसले संकुचन ल्यायो ।
दोश्रो, रेमिट्यान्सको ग्रोथ घट्दै गएको छ । रेमिट्यान्सको नाममा जसरी पैसाको फ्लो हुन्थ्यो, त्यसले समेत समस्या बनाइदियो ।
तेश्रो, सरकारले पर्याप्त खर्च गर्न सकेन । ढुकुटीमा साढे ३ खर्ब थन्किएर बसेको छ । त्यो पैसा पनि आएन । हामीमा ढुकुटीको पैसा खर्च होला र त्यो प्रणालीमा आउला भन्ने अपेक्षा थियो । सरकारले बजेट बनाउँदा ७ प्रतिशत जिडीपी ग्रोथ रेटको प्रक्षेपण गरेको छ । प्रक्षेपित वृद्धिदर हासिल हुनलाई खर्च हुनुपर्छ, तर भएन । पैसा थन्कियो ।
चौथो, नयाँ सरकार चाँडै बन्ला र खर्च होला भन्ने अपेक्षा थियो, त्यो पनि अड्कियो ।
पाँचौ, पूँजी वृद्धिपछि सबैलाई व्यवसाय बढाउने चाप परेको छ । यस्तो बेलामा सबैले बढी ग्रोथ खोज्नु पनि स्वभाविक नै हो । यहीकारण केही बैंकहरु अत्यधिक ग्रोथमा गए, केही औसतमा बसे । जो एग्रेसिभ ग्रोथमा गए, तिनीहरु पैसा तानातानको होडबाजीमा लागे । एक बैंकबाट अर्को बैंकमा निक्षेप तानतुन गर्ने काम भयो । यहीकारण समेत रेट बढेर डाँडामाथि पुगिसक्यो ।
जटिल अवस्था, प्रभाव धेरै
एकातिर क्रेडिट समस्याले ग्रस्त पारेको छ भने पुस महिनाभित्रमै ७० देखि ८० अर्ब रुपैयाँ राजश्वको रुपमा सरकारी ढुकुटीमा जानेछ । एनसेलले ठूलो रकम लाभांशको रुपमा विदश लैजानेछ । थोरै भए पनि मासिक ३० अर्बको हाराहारीमा आयल निगमले इण्डियन आयल निगमलाई पेट्रोलियम भुक्तानी गर्नुपर्छ । यसरी हेर्दा आगामी दिन अझै जटिल बन्नसक्छन् । तत्कालीक रुपमा कर्जा लगानीयोग्य स्रोतको अभाव देखिएको छ । यो समस्या समाधान नभएसम्म आर्थिक गतिविधि हुन सक्दैन, जसले जीडीपीको वृद्धिदरमा सोझै नकारात्मक प्रभाव पार्छ ।
त्यति मात्र होइन, जब डिपोजिटको रेट(निक्षेपको दर) १४ सम्म पुुग्छ, तब स्वभाविक रुपमा लगानीको दर बढ्छ । आजको दिनमा १८ प्रतिशतसम्ममा लगानी गर्नुपर्ने अवस्था छ र यदि ब्याजदर यसैगरी गयो भने त्यसले आर्थिक विकासमा नकारात्मक असर गर्छ । महंगी बढ्छ भने आर्थिक वृद्धिदरमा संकुचनसँगै नयाँ उद्योगधन्दा र व्यवसाय फस्टाउने बाटो पनि बन्द हुन्छ ।
यता, यो समस्या बढ्दै जाँदा बैंकको डिफल्ट रेट पनि बढ्छ । किनभने हिजोको दिनमा तपाई १० प्रतिशतमा बैंकको इएमआई तिर्नुहुन्थ्यो भने आज १५ प्रतिशत भयो भने तिर्ने क्षमतामा ह्रास हुन्छ ।
ब्याजदर १२–१३ प्रतिशत भन्दा माथि जानुु भनेको अर्थतन्त्रमा संकुचन आउनुु नै हो । यसमा दुुईमत छैन ।
मलाई लाग्छ, बैंकहरु डिपोजिटकै लागि रेट बढाबढमा लाग्नुु पछाडि फण्ड(पैसा) बढी भएका सरकारी निकायहरु पनि दोषी छन् । पैसा बढी भएका सरकारी निकायहरु बैंकसँग आएर नाफामुखी भई रेटमा बार्गेन गर्छन्, यसले रेट बढ्न सहयोग गरेको छ । सरकारले नै नीति बनाएर बार्गेन गर्ने प्रवृतिको अन्त जरुरी देख्छुु म । त्यस्ता निकाय नाफामुखी मात्र भइरहने हो भने त्यसले समग्र अर्थतन्त्रलाई असर गर्ने संकेत देखिइसकेको छ ।
हामी कहाँ जाँदैछौ ?
सरकारले बजेटमार्फत चालुु आर्थिक वर्षको आर्थिक वृद्धिदर ७ प्रतिशतको हाराहारीमा हुने प्रक्षेपण गरेको छ । त्यो आर्थिक वृद्धिको लक्ष्य हासिलका लागि क्रेडिट ग्रोथको डिमाण्ड २० प्रतिशतको हाराहारीमा हुनुपर्छ अर्थात आन्तरिक कर्जा २० प्रतिशतले बढ्छ भन्ने अपेक्षा हो । तर, हामी बैंकहरुले भने ४० देखि ५० प्रतिशतसम्मको ग्रोथ गर्छौ भन्दै योजना बनाइरहेका छौ । यो त स्वभाविक भन्दा पनि अस्वभाविक लक्ष्य भयो । अस्वभाविक वृद्धितर्फको यात्राले हामीलाई संकटतर्फ धकेलिरहेको छ ।
अर्को, हामी अल्पकालीन योजनामै बढी सीमित भयौं । असोजमा डिपोजिट चाहिदैन भन्ने पुस आएपछि चाहि जति भाउमा लिन पनि तयार हुने । भनेपछि हामी कता जाँदैछौ भनेर गम्भीर भएर सोच्नुुपर्ने आवश्यकता छ । हाम्रो बैकिङ अल्पकालीन रणनीतिमा केन्द्रीत छ । हामीले दीर्घकालीन योजना बनाएर अगाडि बढ्नुुको अब विकल्प छैन । ‘कर्जा दिंदै गरौं, डिपोजिट खोज्दै गरौंला’ भन्ने मानसिकता बैंकरहरुमा हाबी भएको हो कि भन्ने पनि देखिन्छ ।
त्यसकारण अहिले क्रेडिटमा संकुचन आउनुको दोष एउटाको मात्र होइन । बैंकको योजना, प्रक्षेपणमा पनि थुप्रै कमजोरीहरु छन् ।
म कार्यरत बैंकको कुरा गर्ने हो भने हामीले सम्पत्ति र दायीत्वको सही व्यवस्थापन गरेकै कारण आजको अवस्थामा समेत ठूलो समस्या भोगेका छैनौ । हाम्रो निक्षेप भन्दा कर्जा ग्रोथ कम छ । हामी आक्रामक भएका छैनौ, यहीकारण हाम्रो अवस्था स्वभाविक छ, सकस परेको छैन । हामीलाई अहिलेको क्रेडिट अभावको समस्याले उति धेरै छोएको पनि छैन ।
३ बुँदे समाधान
सबैभन्दा पहिलो काम हामीले आफ्नो विजिनेश प्लान र रणनीतिमा पुनर्विाचन गर्नुपर्छ । त्यो यथार्थसम्मत हुनुपर्छ ।
दोश्रो, अब हामीले दीर्घकालीन रणनीतिका साथ अगाडि बढ्नुुपर्छ । एक वा दुुई त्रैमासको समस्या व्यवस्थापन गर्ने खालको नीति बनाएर अगाडि बढ्नुु नै अहिलेसम्म हामीले गर्दै आएको गल्ती हो । यो साँघुरो दायराबाट माथि उठ्नुुपर्छ ।
तेश्रो, सरकारले पैसा ढुकुटीमा थन्क्याउन भएन । सरकारले पैसा खर्च गरिदिन पर्यो ।
बिगार्ने हामी, दोष किन अरुलाई ?
पछिल्लो समय हेर्ने हो भने आक्रामक शैली हामीले देखाइरहेका छौ, अनि दोष चाहि अर्काको टाउकोमा थोपर्ने प्रयास गरिरहेका छौ । बजारको प्राकृतिक वृद्धिदर भन्दा हाम्रो ग्रोथको लक्ष्य अस्वभाविक छ । हामी आफूले समस्या उब्जाएर राष्ट्रबैंकले यो नीति परिवर्तन गरिदिएन, त्यो नीति परिवर्तन गरिदिएन भनिरहेका छौ । समस्या हामीले उब्जाइदिने अनि नीति परिवर्तन गरिदेऊ भनेर अरुलाई भन्ने यो हाम्रो कस्तो नैतिकता हो ?
सायद कतिपय बैंकहरुको उत्ताउलोपन देखेरै होला राष्ट्रबैंक कडा रुपमा प्रस्तुत हुने संकेत देखिइसकेको छ । यस्तो अवस्थामा नियामक चूप लागेर नबस्ला पनि ।
लम्बिन सक्छ समस्या
अघिल्लो वर्षको यही अवधिमा क्रेडिट अभाव हुँदा रेट बढेर अधिकतम १३.८ प्रतिशत पुुगेको थियो । तर, यो वर्ष १४ प्रतिशत पुगिसक्यो । पुस मसान्तभित्र ८० अर्ब रुपैयाँ राजश्वको रुपमा ढुकुटीमा जम्मा हुन जान्छ । अब झनै ठूलो समस्या हुनसक्ने क्रेडिटका लागि अझै तानातानको अवस्था हुनेछ । अर्काको निक्षेप तान्न उसले भन्दा आफूले बढी रेट लगाउनैपर्छ । यसले ब्याजदर अझ बढ्नसक्ने संभावना देखिन्छ ।
अर्को, प्रणालीमा लगानीयोग्य रकम नहुने प्रसंग राजनीतिसँग पनि जोडिएको हुन्छ । सरकार तत्काल गठन हुने अवस्था देखिएको छैन । फागुनसम्म मात्र नयाँ सरकार आउने संभावना देखिन्छ । यस्तो भयो भने ढुकुटीमा भएको पैसा खर्च गर्ने अवस्था हुन्न । कि त अर्को कुनै मेकानिजम बनाएर खर्च गर्नुपर्यो, होइन भने ढुकुटीको पैसा खर्च नभएसम्म समस्या अझ बल्झिन सक्छ । यसले आर्थिक गतिविधि कम भई ७ प्रतिशतको आर्थिक वृद्धिदरमा संकुचन आउनसक्छ ।
(कुराकानीमा आधारित)
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago