काठमाण्डौ । युक्रेनमाथि आक्रमण गरेपछि रुसले पश्चिमी देशहरुको प्रतिबन्धको सामना गरिरहेको छ। जसका कारण रुस सस्तोमा तेल बेच्न बाध्य भएको छ। 

रुसबाट सस्तो तेल खरिद गरेकोमा भारतले अमेरिकालगायत धेरै देशको आलोचनाको सामना गर्नुपरेको थियो। तर, अहिले साउदी अरेबिया र संयुक्त अरब इमिरेट्स (यूएई) ले पनि रुसी तेल सहुलियत दरमा खरिद गरी घरेलु उपभोगका लागि प्रयोग गरिरहेको खुलासा भएको छ। 

खाडीका यी तेलका धनी देशहरुले पनि रुसबाट तेल किनेर पाकिस्तान र श्रीलंकाजस्ता देशमा निर्यात गर्ने गरेको खबर आएको छ। साउदी र यूएई रुसी तेल र इन्धनका लागि प्रमुख व्यापार र भण्डारण केन्द्रका रूपमा देखा पर्न थालेका छन्।

वाल स्ट्रिट जर्नलको रिपोर्ट अनुसार साउदी र यूएईले रुसी कच्चा तेल सहुलियत दरमा खरिद गरी आफ्नो देशमा प्रशोधन गरिरहेका छन्। साउदी र यूएईले घरेलु उपभोगका लागि रुसी तेल प्रयोग गर्दै आएका छन् भने बजार मूल्यमा तेल निकासी गरिरहेका छन्।

रिपोर्टका अनुसार साउदी र यूएईले रुसी नाफ्था तेल ६० डलर र रुसी डिजेल २५ डलर प्रतिटन छुटमा खरिद गरिरहेका छन्।

दुवै खाडी देश विशेष गरी यूएई रुसी तेल र इन्धनका लागि प्रमुख व्यापार र भण्डारण केन्द्रका रुपमा उभिएका छन्। यूएईका कम्पनीहरुले रुसी ऊर्जा आयात गरी पाकिस्तान, श्रीलंका वा पूर्वी अफ्रिकामा बेच्ने गरेको प्रतिवेदनमा उल्लेख छ।

केप्लरको तथ्यांकले देखाउँछ कि गत वर्ष यूएईले रुसबाट ६ करोड ब्यारेल तेल खरिद गरेको थियो तर अहिले यो खरिद तीनगुणा बढेको छ। आर्गस मिडियाको तथ्यांकअनुसार रुसको १० प्रतिशतभन्दा बढी तेल यूएईको मुख्य तेल भण्डारण केन्द्र फुजैराहमा भण्डार गरिएको छ।

रुसले युक्रेनमा आक्रमण गर्नुअघि साउदी अरेबियाले रुसबाट तेल आयात नगरेको ठाउँमा अहिले दैनिक १ लाख ब्यारेल रुसी तेल आयात गरिरहेको छ। अर्थात् साउदीले १ वर्षमा करिब ३ करोड ६० लाख ब्यारेल रुसी तेल खरिद गरिसकेके छ। 

अमेरिकी अधिकारीहरुले रुस र खाडी मुलुकबीचको बढ्दो सम्बन्धप्रति आपत्ति जनाएका छन्। तर, रुसले आफ्नो कच्चा तेल (उराल) अन्तर्राष्ट्रिय बेन्चमार्क ब्रेन्ट क्रुडको तुलनामा ३० प्रतिशतभन्दा बढी छुटमा बिक्री गरिरहेको छ। जसका कारण खाडी राष्ट्रहरुले अमेरिकाको असन्तुष्टिलाई बेवास्ता गर्दै तेल किनिरहेका छन्।

युक्रेनमा आक्रमण गरेपछि अमेरिकाको नेतृत्वमा पश्चिमा राष्ट्रले रुसमाथि कडा प्रतिबन्ध लगाएका छन्। यी देशहरुले रुसी तेल खरिद सीमित वा रोकेका छन्। रुसी तेलमा पनि मूल्य निर्धारण गरिएको छ। जसअन्तर्गत रुसी तेल प्रतिब्यारेल ६० डलरभन्दा बढीको दरमा खरिद गर्न निषेध गरिएको छ।

रुस पश्चिमा राष्ट्रका यी प्रतिबन्धहरुलाई असफल पार्न पूर्ण रुपमा सक्षम देखिएको छ। सन् २०२२ को त्रैमासिकमा रुसको समुद्री कच्चा तेलको निर्यात ३.३५ मिलियन ब्यारेल थियो। सन् २०२३ को पहिलो त्रैमासिकमा यो बढेर प्रतिदिन ३.५ मिलियन ब्यारेल पुगेको छ।

केप्लरको तथ्यांकअनुसार भारत र चीनले मिलेर रुसी तेल निर्यातको ९० प्रतिशत खरिद गरिरहेका छन्। जुन तेल रुसले युरोपमा निर्यात गर्दथ्यो, नाकाबन्दीपछि त्यो तेल अहिले भारत र चीनले प्राप्त गरिरहेको छ। प्रत्येक देशले दिनमा १५ लाख ब्यारेलभन्दा बढी किन्न थालेको छ।

यति हुँदाहुँदै पनि रुसले पहिले जति कमाइ तेलबाट गर्न सकेको छैन। सहुलियत दरमा तेल बिक्री गरेर पहिलेको भन्दा बढी नाफा कमाउन सकेको छैन। –एजेन्सी