काठमाण्डौ । पूर्णसरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंक चालु आर्थिक वर्षको तेश्रो त्रैमासमा समेत सबैभन्दा बढी नाफा कमाउने बैंक बन्ने देखिएको छ।

अधिकांश वाणिज्य बैंकले तेश्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरिसकेका छन्। बाँकी रहेका एनआइसी एशिया लगायतका बैंकहरुको नाफा राष्ट्रिय वाणिज्य बैंक बराबरी हुने संभावना छैन । यसकारण समेत यो बैंक तेश्रो त्रैमासमा पनि सबैभन्दा बढी नाफा आर्जन गर्ने बैंक बनेको हो।  

यो बैंकले नौ महिनाको अवधिमा बैंकले ३ अर्ब ४९ करोड नाफा आर्जन गरेको हो। 

गत वर्षको यही अवधिको तुलनामा बैंकको नाफा १३.४२ प्रतिशतले बढेको देखिएको छ । गत वर्षको यही अवधिमा बैंकले ३ अर्ब ८ करोड नाफा कमाएको थियो। 

यो बैंकले समीक्षा अवधिमा ३ अर्ब ४१ करोड वितरणयोग्य मुनाफा आर्जन गरेको छ । अन्य बैंकको तुलनामा वितरणयोग्य मुनाफा निकै आकर्षक हो ।

बैंकले समीक्षा अवधिमा १० अर्ब ८५ करोड ब्याज आम्दानी गरेको छ भने ब्याज खर्च निकै न्यून ३ अर्ब ४७ करोड मात्र रहेको छ। खूद ब्याज आम्दानी ७ अर्ब ३७ करोड आर्जन गरेको छ । अघिल्लो वर्ष यही अवधिमा बैंकले ६ अर्ब १९ करोड मात्र खूद ब्याज आम्दानी गरेको छ । 

अघिल्लो वर्ष ३ अर्ब ८८ करोडमा सीमित संचालन मुनाफालाई बढाएर बैंकले ४ अर्ब ८६ करोडको उचाईमा पुगेको छ । 

समीक्षा अवधिमा बैंकले १ खर्ब ७२ अर्ब ७९ करोड निक्षेप संकलन गरी १ खर्ब ३७ अर्ब २ करोड बढी कर्जा परिचालन गरेको छ । अघिल्लो वर्ष यही अवधिमा १ खर्ब ६४ अर्ब २१ करोड निक्षेप संकलन गरी १ खर्ब १७ अर्ब ४१ करोड बढी कर्जा परिचालन गरेको थियो । 

नौ अर्ब चुक्तापूँजी भएको यो बैंकको खराब कर्जाको अनुपात भने बढेको छ । अघिल्लो वर्षको यही अवधिसम्म २.९० प्रतिशत रहेको खराब कर्जा बढेर ४.२८ प्रतिशत पुगेको हो । तर, खराब कर्जाको यो अनुपात नेपाल राष्ट्रबैंकले तोकेको सीमाभित्रै छ । 

बैंकको आधार दर अघिल्लो वर्षको यही अवधिमा ६.२० प्रतिशत रहेकोमा घटेर यो वर्ष ५.३८ प्रतिशत पुगेको छ । यति न्यून आधार दरमा समेत बैंकले गरेको प्रगति उदाहरणीय देखिन्छ।

समीक्षा अवधिमा बैंकको कस्ट अफ फण्ड पनि अत्यन्त न्यून अर्थात २.७४ प्रतिशत मात्र रहेको छ । 

समीक्षा अवधिमा बैंकको प्रतिसेयर खूद सम्पत्ति मूल्य २५०.५० रुपैयाँ रहेको छ भने वार्षिकीकृत प्रतिसेयर आम्दानी ३५.९२ रुपैयाँबाट बढेर ३८.८६ रुपैयाँको उचाईमा पुगेको छ ।