काठमाण्डौ । लक्ष्मी बैंक लिमीटेडको सहायक कम्पनी लक्ष्मी क्यापिटल मार्केट लिमीटेडको प्रवद्र्धनमा संचालित दुुई म्युुचुुअल फण्डमध्ये एउटाको प्रति इकाई खूद मूल्य घटेको छ भने अर्काको बढेको छ । तर, दुवै स्किमको अवस्था सन्तोषजनक देखिदैन । 

लक्ष्मी भ्यालु फण्ड-१ को प्रति इकाई खूद सम्पत्ति मूल्य घटेको हो । असार मसान्तसम्म १३.९८ रुपैयाँ रहेको यस्तो मूल्य घटेर साउन मसान्तसम्म ११.९७  रुपैयाँमा सीमित भएको हो । 

यो अवधिमासम्म स्किमले सूचिकृत सेयरमा ३२ करोड ७७ लाख, ,सार्वजनिक निश्कासनमा १५ लाख ६३ हजार लगानी गरेको छ । साउन मसान्तसम्म यो स्किमले ९३ लाख २७ हजार मात्र आम्दानी गरेको छ । असार मसान्तसम्म यस्तो आम्दानी १४ करोड ७९ लाख थियो । 

यो स्किमले सबैभन्दा धेरै कित्ता सानिमा बैंकको खरीद गरेको छ । यो बैंकको ३८ हजार ७ सय १२ कित्ता खरीद गरेको हो । रकमको हिसाबले सबैभन्दा ठूलो लगानी नबील बैंकको संस्थापक सेयरमा ३ करोड ७३ लाख रुपैयाँ रहेको छ । 

यसैगरी, लक्ष्मी इक्वीटी फण्डको प्रति इकाई खूद सम्पत्ति मूल्य(न्याभ) भने केही बढेको देखिएको छ । यो स्किमको साउन मसान्तसम्मको यस्तो मूल्य ९.९७ रुपैयाँ कायम भएको हो । असार मसान्तसम्म यस्तो मूल्य ९.८५ रुपैयाँ थियो । प्रति इकाई मूल्य १० रुपैयाँ भन्दा न्याभ तलै हुनुुले फण्डको अवस्था राम्रो छैन भन्ने संकेत गर्छ । 

साउन मसान्तसम्म यो स्किमले सूचिकृत सेयरमा ३६ करोड ८४ लाख, सार्वजनिक निश्कासनमा १२ लाख ६ हजार लगानी गरेको छ । मुद्धती निक्षेपमा यो स्किमले २५ करोड राखेको छ । असार मसान्तसम्म १ करोड ८१ लाख घाटामा रहेको यो स्किम साउन मसान्तसम्म ३८ लाख २४ हजार घाटामा रहेको छ । 

यो स्किमले पनि सबैभन्दा धेरै सानिमा बैंकको ३७  हजार ४ सय ९१ कित्ता खरीद गरेको छ । रकमको हिसाबले सबैभन्दा धेरै लगानी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको सेयरमा २ करोड ३६ लाख रहेको छ ।