काठमाण्डौ । जापानी अटो कम्पनी होन्डाले आगामी १० भित्रमा विद्युतीय मोटरसाइकल र मोपेडको उत्पादनमा ५०० अर्ब येन अर्थात् करिब ३ अर्ब ४० करोड अमेरिकी डलर लगानी गर्ने योजना बनाएको छ ।

विश्वको सबैभन्दा ठूलो दुई पाङ्ग्रे सवारी निर्माता कम्पनी होन्डालेले सन् २०३० सम्ममा ३० नयाँ विद्युतीय मोडेल लन्च गर्ने र विद्युतीय मोटरसाइकलहरूको विद्यमान लागतलाई ५० प्रतिशतले कम गर्ने योजना बनाएको बताएको छ ।

‘आफ्ना मोटरसाइकलहरूको विद्युतीकरणका लागि होन्डाले सन् २०२१ देखि सन् २०२५ सम्मको अवधिमा १०० अर्ब येन लगानी गरिरहेको छ ।  र सन् २०२६ देखि सन् २०३० सम्मको पाँच वर्षको अवधिमा थप ४०० अर्ब येन लगानी गर्नेछ’, होन्डाले जारी गरेको एउटा बयानमा भनिएको छ । 

कम्पनीले सन् २०३० का लागि उसको विश्वव्यापी वार्षिक बिक्री लक्ष्यलाई पनि बढाएर ४० लाख एकार्इ बनाएको छ । यो अघिल्लो वर्षको घोषित ३५ लाख एकार्इभन्दा बढी हो । 

प्रारम्भमा आन्तरिक प्रज्वलनशील इन्जिन मोडेलका लागि आफ्नो विद्यमान पूर्वाधार संरचनाको उपयोग गर्ने तर सन् २०२७ देखि समर्पित विद्युतीय मोटरसाइकल उत्पादन संयन्त्र सुरु गर्ने पनि बयानमा उल्लेख छ ।  

बयानमा कम्पनीले अनलाइन बिक्रीको प्रस्ताव गरेर ग्राहकहरूको सुविधामा पनि सुधार गर्नेछ, यसबाट ग्राहकहरूले व्यक्तिगतरूपमा डिलरकहाँ नगई मोटरसाइकल खरिद गर्न सक्नेछन् भनिएको छ ।

ग्र्यान्ड भ्यू रिसर्चका अनुसार विश्वव्यापी विद्युतीय मोटरसाइकल बजार सन् २०२२ मा ३० अर्ब डलरको थियो । आंशिकरूपमा इन्धनको लागत र जलवायु परिवर्तनका बारेमा सार्वजनिक चिन्ताका कारण सन् २०२३ र सन् २०३० को बीच यसको बजार प्रतिवर्ष १९ प्रतिशतले बढ्ने अनुमान गरिएको छ ।- एजेन्सी