काठमाण्डौ । झापाको व्यवसायी दुर्गा प्रसाईंले थालेको बैंक तथा वित्तीय संस्थाविरुद्धको गैरकानूनी र गलत गतिविधि रोक्न गृह मन्त्रालयले देशभरका सबै जिल्ला प्रशासन कार्यालयहरुलाई कडा निर्देशन दिएको छ ।
व्यवसायी प्रसाईंको उक्साहटपछि पश्चिमका केही जिल्लाहरुमा बैंकर र लघुवित्तकर्मीहरुमाथि कालोमोसो, कुटपिट जस्ता दुव्यर्वहार भएको र देशभर बैंकविरोधी अभियानको नाममा ऋण नतिर्नेजस्ता गलत र गैरकानूनी गतिविधि मौलाउन थालेपछि गृहमन्त्रालयले सबै जिल्ला प्रशासनहरुलाई लिखित सर्कुलरमार्फत कडा निर्देशन दिएको हो ।
विभिन्न जिल्लामा बैंक तथा वित्तीय संस्थाहरुविरुद्ध संगठित रुपमा प्रहारका घटनालाई नियन्त्रण गर्न र त्यस्ता गतिविधिमा संलग्नमाथि कडा कानूनी कारबाही गर्न गृहले लेखेको पत्रमा निर्देशन दिइएको छ।
गृह मन्त्रालयका सचिव विनोदप्रसाद सिंहले बिजशालासँग कुरा गर्दै बैंक तथा वित्तीय संस्थाविरुद्ध भएका गैरकानूनी गतिविधि रोक्न, बैंक तथा त्यहाँ कार्यरत कर्मचारीको भौतिक सुरक्षाको प्रबन्ध मिलाउन र बैंकविरोधी गैरकानूनी गतिविधिमाथि निगरानी बढाउनका लागि चनाखो बनाउने उद्देश्यले सीडीओहरुलाई अलर्ट गराइएको जानकारी दिए ।
गत फागुन १ झापामा एक कार्यक्रमको आयोजना गरी मेडिकल व्यवसायी दुर्गा प्रसाईंले बैंक तथा वित्तीय संस्थाले २० लाख रुपैयाँसम्मको ऋण मिनाहा गर्नुपर्ने, त्यसो नगरे बैंकका कर्मचारीलाई कालोमोसो दल्नुपर्ने बताएका थिए । उनले देशभर बैंकका कर्मचारीलाई ठीक लगाउन दस्ता नै तयार भएको भन्दै अब बैंकरहरुको दुर्दिन सुरु भएका विवादास्पद अभिव्यक्ति दिएका थिए । विशेष अभियान सुरुवातको घोषणा गर्न भन्दै पूर्वराजा ज्ञानेन्द्र शाह, पूर्व युवराज पारस शाह लगायतलाई अतिथि बनाएर सोही मञ्चबाट प्रसाईंले यस्तो अभिव्यक्ति दिएको केही दिनपछि व्यवसायीले बैंक तथा वित्तीय संस्था विरुद्धको आन्दोलनका क्रममा १८ फागुनमा कैलालीको धनगढीमा बैंकमा निक्षेप नराख्न 'नो डिपोजिट' अभियान नै चलाएका थिए भने फागुन १६ मा जाजरकोटको भेरी नगरपालिकामा किस्ता असुलीका लागि गएका लघुवित्तका कर्मचारीलाई एक समूहले कालोमोसो दलेको थियो ।
गृहका अधिकारीहरुले प्रसाईंको अभिव्यक्ति र उक्साहटपछि बैंक तथा लघुवित्तका कर्मचारीको सुरक्षामा खतरा उत्पन्न भएको र यसले शान्तिसुरक्षामा समेत खलल पुर्याउने अवस्था आएको भन्दै कडा कदम चाल्नसक्ने अधिकार समेत सीडीओहरुलाई दिइएको बताएका छन् ।
यता, बैंकरहरुले भने विभिन्न बैंकबाट ५ अर्ब भन्दा बढी ऋण लिएर अरुलाई ऋण नतिर्न उक्साउने दुर्गा प्रसाईंलाई तत्काल पक्राउ गरी कारबाही गर्न माग गरिरहेका छन् ।
गृहस्थित स्रोतका अनुसार अवस्था थप भड्कियो र प्रसाईंको अराजकता बढिरह्यो भने उनी केही दिनभित्रै पक्राउ पर्नसक्छन् ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19