काठमाण्डौ ।पाकिस्तानको आर्थिक स्थिति झन्झन् बिग्रँदै गएको छ ।

चर्को ब्याजदरमा लिएको वैदेशिक ऋण अनुत्पादक वा कम उत्पादनमूलक क्षेत्रमा खर्च गरेपछि पाकिस्तानको आर्थिक अवस्था थाम्नै नसकिने गरी बिग्रेको देखिन्छ ।थोक तथा खुद्रा महँगी बढेको छ भने खाद्यवस्तुको भाउ आकासिएको छ ।

पेट्रोलको भाऊ पहिले नै उच्च थियो हुँदाहु्ँदा दूधको मूल्य पनि प्रतिलिटर २०० रुपया पुगेको छ । दूधको मूल्य कतिपय सहरमा १९० प्रतिलिटर रहेको छ भने खुद्रा डेरिमा प्रतिलिटर २१० रुपया पुगेको छ । दूधको यो मूल्य भारतको तुलनामा तीन गुणाले बढी हो ।चिकेनको मूल्य पनि प्रतिकिलोग्राम ८०० रुपया भएको छ ।

सरकारी प्रेस विज्ञप्तिका अनुसार मट्टीतेल र हलुका डिजेलको भाऊ पनि बढेको छ ।पाकिस्तान अहिले चरम आर्थिक संकटमा छ । खाद्य पदार्थको महँगी (मुद्रास्फीति) शहरी क्षेत्रमा ३२.७० र ग्रामीण क्षेत्रमा ३७.९० प्रतिशत छ ।

महंगीले आकास छुन थालेपछि त्यहाँका अर्थशास्त्रीहरुले इतिहासँकै सवैभन्दा बढी महंगो बढेको भनेर सरकारको आलोचना गरेका छन् । उता डलरको तुलनामा पाकिस्तानी रुपया कमजोर भएकोले मूल्य बढाइएको सरकारले विज्ञप्तिमा भनेको छ ।

अहिले त्यहाँको सरकार नयाँ कर लागू गरेर बहुपक्षीय कर्जादाता निकाय अन्तरराष्ट्रिय मुद्रा कोषले तोकेको शर्तअनुरुप राजस्व बढाएर कोषसँग वित्तीय उद्धार बापतको रकम लिने दौडमा छ ।पाकिस्तान मुद्रा कोषबाट १ अर्ब २० करोड डलर बराबरको कर्जाको किस्ता पाउने तयारीमा छ । साथै पाकिस्तानलाई मित्र देशहरूबाट सहायता आप्रवाहको बाटो पनि खुल्नेछ । पाकिस्तान यतिबेला विदेशी मुद्रा सञ्चिति निमिट्यान्न हुने खतरामा छ ।

पाकिस्तानको वार्षिक मुद्रास्फीति दर ३१ प्रतिशतमा उक्लिएको सरकारी तथ्यांकले देखाएको छ । पेट्रोल, बिजुली, ग्याँस झन्–झन् महँगो हुँदै गएको छ । महँगो ऊर्जा र ऊर्जाको अभावका कारण कलकारखानाहरु बन्द छन् । यसरी आन्तरिक उत्पादन खस्किदै गर्दा बेरोजगारी दर झन् बढ्दै गएको छ ।

आयात कम गर्न सरकारले कोइलाबाट बिजुली उत्पादन चौब्बर बनाउने घोषणा गरेको छ । गत वर्षको विनाशकारी बाढीले पनि पाकिस्तानमा व्यापक क्षति पुर्‍याएको थियो ।

विश्व बैंक, एशियाली विकास बैंक (एडीबी) जस्ता अन्तरराष्ट्रिय वित्तीय संस्थाको अनुमानअनुसार बाढीबाट पाकिस्तानले ३० अर्ब अमेरिकी डलरभन्दा बढीको क्षति बेहोर्नुपरेको छ ।पाकिस्तानको विदेशी मुद्रा आर्जन गर्ने स्रोत रेमिट्यान्स (विप्रेषण), उत्पादनमूलक उद्योग र पर्यटन हो । पर्यटनको स्थिति कोरोनापछि उकासिन सकेको छैन । बाँकी दुई क्षेत्रको अवस्था पनि निराशाजनक छ ।

विश्व नै आर्थिक मन्दीतिर लागिरहँदा पाकिस्तानमा देखिएजस्तै समस्या नेपालमा पनि आउने हो कि भन्ने त्रास व्यवसायिक जगतमा बढ्दो छ । नेपाल र पाकिस्तान दुवै देश श्रम शक्ति विदेश पठाएर धेरै रेमिट्यान्स भित्र्याउनेमा पर्छन् । 

पाकिस्तानले आन्तरिक उत्पादन बढाएर निर्यात बृद्धि गर्न नसकेको यो अवस्थामा नेपालले समयमै यसतर्फ ध्यान दिनु आवश्यक छ । -एजेन्सी