काठमाण्डौ । बैंक तथा वित्तीय संस्थाहरुविरुद्धको आन्दोलनलाई सुदूरपशिचमका उद्योगी–व्यवसायीहरुले थप चर्काएका छन्। 

कैलाली उद्योग वाणिज्य संघको आयोजनामा भइरहेको चरणबद्ध विरोध कार्यक्रमअन्तर्गत आज उद्योगी–व्यवसायीहरुले धनगढीमा रहेका बैंकका शाखाहरुमा ‘नो डिपोजिट’ लेखिएको ब्यानर टासेर तालाबन्दी गरेका छन्। बैंकहरुले मनोमानी रुपमा ब्याजदर बढाएको भन्दै सुदूरपशिचमका उद्योगी–व्यवसायीले ‘व्यवसायीमाथिको आतंक बन्द गर’, ‘बैंकको ब्याजदरमा एकरुपता कायम गर’, ‘व्यवसायीमाथिको व्यापार बन्द गर’लगायतका नारा लगाउँदै ६ महिनाअघिदेखि नै आन्दोलनका कार्यक्रम गरिरहेका थिए। तर, हालसम्म पनि मागहरु सम्बोधन नभएपछि उनीहरु थप आन्दोलन गर्न बाध्य भएको बताउँछन्।

बैंकको ब्याजदर तथा विभिन्न नीतिविरुद्ध भइरहेको आन्दोलनमा सुदूरपश्चिमका सबै जिल्ला तथा नगर उद्योग वाणिज्य संघको ऐक्यबद्धता रहेको कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्पराज कुँवरले बताए। विगतमा बैंकहरुले उद्योगी–व्यवसायीलाई बोलाएर आवश्यकताभन्दा बढी नै ऋणको भारी बोकाएको र अहिले ब्याजदर मनोमानी हिसाबले ब्याजदर वृद्धि गरेपछि आमउद्योगी–व्यवसायी मारमा परेको उनको भनाइ छ।

‘५–६ महिना अघिदेखि नै हाम्रो आन्दोलन जारी छ, योबीचमा मागहरु सम्बोधनका लागि सरकारलाई पनि ध्यानाकर्षण गराएका थियौँ’, उनले भने, ‘राष्ट्र बैंकको ल्याएको चालुपुँजी मार्गदर्शनले उद्योगी–व्यवसायीलाई झनै मार परेको छ, त्यसकारण यसलाई पनि खारेज गरिनुपर्छ।’ 

अहिले पस्थितिमा उद्योगीव्यवसायीले डब्बल कर्जा तिर्नुपरिरहेको कुँवरको भनाइ छ। ‘हामीले ७ प्रतिशतमा लिएको कर्जाको ब्याजदर अहिले १६ प्रतिशत पुगिसकेको छ’, उनले भने। 

धनगढीमा बैंकहरुको सेवा ठप्प भएसँगै सेवाग्राहीलाई भने बैंकिङ कारोबारमा समस्या परेको छ। उद्योगी–व्यवसायीहरु आफ्ना मागहरु पूरा नभए यो आन्दोलनलाई देशव्यापी बनाउने तयारीमा छन्। सरकारले आफूहरुलाई व्यवसायीलाई सडक आन्दोलन गर्न बाध्य बनाएको उनीहरुको आरोप छ। 

केही समयअघि बैंक तथा वित्तीय संस्थाको चर्को ब्याजदर भएको र त्यसलाई एकल अंकमा झार्न काग गर्दै आन्दोलन भइरहेकोमा अहिले केही स्थानमा रोकिएको अवस्था छ। 

यता बैंकरहरु विस्तारै ब्याजदर घट्दै जाने बताउँछन्। व्यवसायीहरुले ब्याजदर घटाएर एकल विन्दुमा झान माग गर्दै आन्दोलन गरिरहे पनि तत्काल ब्याजदर घट्ने अवस्था नरहेको तर केही समयपछि घट्दै जाने उनीहरुको भनाइ छ।