काठमाण्डौ । भारतमा रुसी तेलको आयात निरन्तर बढिरहेको छ। अर्कोतर्फ पश्चिमा राष्ट्रहरुले रुसमाथिको प्रतिबन्धलाई निरन्तरता दिइरहेका छन्। 

वित्तीय बजार र पूर्वाधारसँग सम्बन्धित डाटा उपलब्ध गराउने अमेरिकी–ब्रिटिस प्रदायक रेफिनिटिवको अनुमानअनुसार मे महिनामा रुसबाट भारतमा कच्चा तेल आयात ३०.३६ लाख मेट्रिकटन पुग्नेछ। यो गत वर्ष रुसबाट भारत आएको मासिक औसत ३ लाख ८२ हजार ५०० मेट्रिकटन कच्चा तेलभन्दा नौगुणा बढी हो। 

युक्रेनमा भएको आक्रमणपछि भारतले रुसबाट ४०.८ लाख मेट्रिकटन तेल आयात गरेको रेफिनिटिभले जनाएको छ। रुसको युराल्स आयलले हाल करिब ९५ डलर प्रतिब्यारेलमा तेल बिक्री गरिरहेको छ। अन्तर्राष्ट्रिय बजारमा भने तेलको मूल्य प्रतिब्यारेल ११९ डलर रहेको छ।

पश्चिमी देशको प्रतिबन्धका कारण रुसले सस्तो मूल्यमा तेल बिक्री गरिरहेको छ। 

युरोपेली संघले यस वर्षको अन्त्यसम्म रुसी तेल आयातमा ९० प्रतिशतले कटौती गर्ने सहमति गरेको छ। यसबाहेक अमेरिका, क्यानडा, बेलायत, अस्ट्रेलिया र जापानले यसअघि नै प्रतिबन्ध लगाएका छन्। युरोप रुसी तेलको सबैभन्दा ठूलो खरिदकर्ता हो। युक्रेन आक्रमणका कारण प्रतिबन्ध लगाएर युरोपले रुसी अर्थव्यवस्थामा दबाब सिर्जना गर्न खोजिरहेको छ। 

रुस नयाँ तेल खरिदकर्ताको खोजीमा छ। यस्तो अवस्थामा भारतलाई राम्रो विकल्प मानिएको छ।

भारतले आफ्नो तेलको ८० प्रतिशत आयात गर्छ र रुसबाट दुईदेखि तीन प्रतिशतमात्र लिन्छ। यो वर्ष तेलको मूल्य लगातार बढिरहेको छ। यस्तो अवस्थामा भारतले आयात बिल घटाउन रुसबाट सहुलियतमा तेल खरिद बढाइरहेको छ।

रिफिनिटिवका अनुसार भारतले अप्रिलमा रुसबाट १०.०१ लाख मेट्रिक टन तेल किनेको थियो। भारत सरकारले मे महिनामा भारतले धेरै देशबाट पेट्रोलियम र प्राकृतिक ग्यास आयात गरिरहेको जनाएको छ। जसमा अमेरिकामा पनि समावेश छ। –एजेन्सी