काठमाण्डौ । माछापुच्छे बैंकको अवस्था दयनीय बन्दै गएको छ । यो बैंकको प्रमुख बित्तीय सूचकमा पहिरो गएका कारण अवस्था खस्कदै गएको हो ।

सोमबार प्रकाशित दोश्रो त्रैमासको अपरिस्कृत वित्तीय विवरणमा अधिकांश सूचकहरुमा ठूलो गिरावट आएको देखिएको छ । 

यो बैंकको खूद नाफा, संचालन नाफा, रिजर्ब कोष, खूद ब्याज आम्दानी, इक्वीटीमा प्रतिफल लगायतमा ठूलो गिरावट आएको हो । यस्तै, सीसीडी रेसियो ८० प्रतिशत नजिक पुगेपछि थप कर्जा विस्तार गर्न नसक्ने भएर बैंक थलिएको देखिएको छ ।

अघिल्लो वर्ष ५७ करोड ५३ लाख रुपैयाँ रहेको खूद नाफा घटेर ४७ करोड १८ लाखमा सीमित बन्न पुगेको छ । यस्तै, ८४ करोड ९१ लखको  उचाईमा रहेको संचालन नाफामा पनि पहिरो गई ६८ करोडमा झरेको छ । 

अघिल्लो वर्षको यही अवधिमा २ अर्ब  ४२ करोड रहेको रिजर्ब कोष खिइएर १ अर्ब ४४ करोडमा सीमित बन्न  पुगेको छ । यसरी बैंकको रिजर्बकोषमा ४४ प्रतिशतको पहिरो गएको देखिएको छ ।

व्यवसाय वृद्धि  गर्न बैंकको व्यवस्थापन असफल भएका कारण अघिल्लो वर्ष  १ अर्ब १२ करोड रहेको खूद ब्याज आम्दानी घटेर  १ अर्ब ६ करोडमा सीमित भएको छ ।  

बैंकले ५ करोड ५२ लाख  रुपैयाँ राइटब्याक गरेको छ भने जोखिम व्यवस्थापनका लागि १४ करोड १४ लाख प्रोभिजनमा राखेको छ । 

समीक्षा अवधिमा बैंकले ६५ अर्ब ७९ करोड निक्षेप संकलन गरी ६० अर्ब २६ करोड कर्जा परिचालन गरेको छ । अघिल्लो वर्षको यही अवधिमा ५८ अर्ब २४ करोड निक्षेप संकलन गरी ५१ ऋर्ब ८५ करोड कर्जा प्रवाह गरेको थियो । 

बैंक सीसीडी रेसियो ७९.५७ प्रतिशत पुगेको छ ।  यसको अर्थ यो बैंक थप कर्जा बिस्तार गर्न नसक्ने अवस्थामा रहेको बुझिन्छ । 

बैंकले खराब कर्जालाई भने केही घटाएको छ । अघिल्लो वर्षको दोश्रो त्रैमाससम्म ०.३५ प्रतिशत रहेको यस्तो कर्जा केही घटी ०.३३  प्रतिशतमा सीमित बन्न पुगेको हो । 

खूद नाफा नै घटेपछि बैंकको वार्षिकीकृत प्रतिसेयर आम्दानी २४.६६ रुपैयाँबाट घटेर ११.९४  रुपैयाँमा झरेको छ । यो अवधिमा  प्रतिसेयर नेटवर्थ ११८ रुपैयाँ र मूल्य आम्दानी अनुपात २२.७५ गुणा कायम भएको छ । बैंकको इक्वीटीमा प्रतिफल समेत १६.२३ प्रतिशतबाट घटेर ९.९३ प्रतिशतमा सीमित भएको छ ।