काठमाण्डौ । कुनै पनि कम्पनीले दिने लाभांशको व्यग्र प्रतिक्षामा लगानीकर्ता हुन्छन्, भनिन्छ । तर, कतिपय लगानीकर्ता यस्ता पनि छन्, जो घोषित लाभांश समेत समयमा लिंदैनन् । अझ कतिपय बैंक तथा बित्तीय संस्थाले दिने नगद लाभांश समेत लिन कतिपय सेयरधनी पुुग्दैनन् । किन होला ? जानकार भन्छन्, एउटा कारण सूचना समयमै सम्बन्धित सेयरधनीमा नपुुग्नुु हो भने अर्कोतर्फ न्यून लाभांश लिनका लागि गर्नुपर्ने खर्च पाउने नगद लाभांश भन्दा बढी भएर पनि हो । तर, कतिपय म्युचुुअल फण्डहरुले इकाईधनीहरुको आफ्नो बैंक खातामै नगद लाभांश हालिदिने भन्दा पनि लगानीकर्ता जाँगर चलाउँदैनन् । यस्तै, पाइएको छ सिद्धार्थ लगानी वृद्धि योजना १ तथा सिद्धार्थ इक्वीटी ओरिएन्टेड स्कीममा समेत । 

यी दुवै म्युुचुुअल फण्डहरुले विगतका आर्थिक वर्षको नगद लाभांश समेत केही इकाईधनीले नबुुझेका भन्दै चेकमार्फत लाभांश बुुझ्न आइतबार सूचना नै जारी गरेका छन् । विगतमा यी स्किमले आकर्षक लाभांश घोषणा गर्दा समेत लिन नआउने इकाईधनीहरुलाई हुस्सुु वा बेमतलबी नै भन्नुपर्ला ।  

सिद्धार्थ लगानी वृद्धि योजना १ ले आर्थिक वर्ष २०६९/७० मा घोषणा गरेको ४.५० प्रतिशत, आब २०७०/७१ क लागि घोषित १५ प्रतिशत, २०७१/७२ का लागि घोषित १५ प्रतिशत, ०७२/७३ का लागि घोषित ३० प्रतिशत लाभांश बुुझ्न सूचना प्रकाशित गरेको हो । 

यस्तै, सिद्धार्थ इक्वीटी ओरिएन्टेड स्कीमले समेत २०७२/७३ को १६ प्रतिशत नगद लाभांश बुुझ्न इकाईधनीहरुलाई आह्वान गरेको हो । 

गत आबको कसरी बुुझ्ने ?


यी दुवै म्युचुुअल फण्डहरुले आर्थिक वर्ष २०७३/७४ को लाभांश बुुझ्न केही समयअघि इकाईधनीहरुलाई बैंक खाता नम्बर अद्यावधिक गर्न आग्रह गरेको थियो । तर, सबै इकाईधनीले खाता अद्यावधिक नगरेको भन्दै भदौ २८ गतेदेखि नै एकाउण्टपेयी चेकमार्फत भुक्तानी दिने व्यवस्था सुरु गरिसकिएको भन्दै आइतबार समेत सूचना जार गरेको छ । दुवै स्किमका इकाईधनीहरुले सिद्धार्थ क्यापिटलको नक्साल(नारायणचौर)स्थित कार्यालयमा गई चेक बुुझ्न सक्ने बताइएको छ । 

सिद्धार्थ लगानी वृद्धि योजना १ ले गत आर्थिक वर्षको नाफाबाट इकाईधनीहरुलाई ६० प्रतिशत र सिद्धार्थ इक्वीटी ओरिएन्टेड स्कीमले २५ प्रतिशत नगद लाभांश वितरण गरिरहेको हो ।