काठमाण्डौ । अर्थमन्त्रीको लगातारको दवाबका बाबजुद केही वाणिज्य बैंकहरुले ब्याजदर बढाएका छन् । 

केही बैंकले असोजका लागि ब्याजदर बढाएर प्रकाशित गरेका हुन् । 

केही बैंकले तोकेको ब्याजदर विकास बैंकहरुको अधिकतम ब्याजदरभन्दा बढी छ भने उनीहरुको प्रतिस्पर्धा वित्त कम्पनीहरुसँग देखिएको छ । 

ब्याजदरको सिण्डिकेट खारेजीसँगै खुल्ला बजारलाई छाडिएपछि धेरै लामो समयको अन्तरालपछि निक्षेपको ब्याजदरमा केही वाणिज्य बैंकहरुको प्रतिस्पर्धा वित्त कम्पनीसँग हुने देखिएको हो । त्यस्ता बैंकहरुले तोकेको ब्याजदर विकास बैंकहरुले तोकेको अधिकतम दरभन्दा बढी समेत देखिएको छ। 

विकास बैंकहरुले असोजका लागि व्यक्तिगत मुद्दति निक्षेपको ब्याजदर ११ प्रतिशत कायम गरेका छन् भने संस्थागतको ९ प्रतिशत रहेको छ । 

यस्तै, केही फाइनान्स कम्पनीको मुद्दति निक्षेपको अधिकतम ब्याजदर ११.७५ र संस्थागतको ९.७५ प्रतिशत रहेको छ । 

विकास बैंकहरुलाई पछाडि पार्दै वित्त कम्पनीसँग प्रतिस्पर्धा गर्ने गरी केही बैंकले ब्याजदर बढाएका हुन् । 

जस्तो, हिमालयन, एभरेष्ट, नेपाल इन्भेष्टमेन्ट मेगा, प्राइम कमर्सियल, नवील बैंकको मुद्धति निक्षेपतर्फको ब्याजदर ११ प्रतिशतभन्दा माथि पुगेको छ । संस्थागततर्फको ब्याजदर पनि ९ प्रतिशत माथि पुगेको छ । यो भनेको विकास बैंकको भन्दा बढी हो भने बित्त कम्पनीहरुले तोकेको भन्दा केही कम हो । 

प्राप्त तथ्यांकअनुसार असोजका लागि नयाँ ब्याजदर प्रकाशित गरेका १७ वाणिज्य बैंकमध्ये ६ वटाको बढाएका छन् भने ७ वटाले घटाएका छन् । बाँकी ४ वटाको ब्याजदर स्थिर रहेको छ । 

कुनले बढाए, कुनले घटाए ?
निक्षेपको ब्याजदर बढाएर प्रकाशित गर्ने बैंकहरुमा एभरेस्ट, हिमालयन, नबिल, नेपाल इन्भेस्टमेन्ट मेगा, प्राइम कमर्सियल र नेपाल एसबीआई छन्। यी सबै बैंकले व्यक्ति मुद्दति निक्षेपको ब्याजदर बढाएर अधिकतम ११ प्रतिशत माथि र संस्थागतको ९ प्रतिशत माथि पुगेको छ। 

ब्याजदर घटाएर प्रकाशित गर्ने अन्य बैंकहरुमा सिटिजन्स, स्ट्यान्डर्ड चार्टर्ड, राष्ट्रिय वाणिज्य, नेपाल बैंक, लक्ष्मी सनराइज, ग्लोबल आइएमई र कुमारी छन्। 

यसैगरी भदौकै ब्याजदरलाई निरन्तरता दिने बैंकहरुमा एनएमबी, सिद्धार्थ, प्रभु र माछापुच्छ्रे बैंक छन्।