काठमाण्डौ । नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नरमा महाप्रसाद अधिकारीले मंगलबार सर्वोच्च अदालतमा पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन्।
बिहान साढे ११ बजे नवनियुक्त अधिकारीलाई प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले सपथ ग्रहण गराएका हुन् । अधिकारीले आजै वालुवाटारस्थित नेपाल राष्ट्र बैंकमा पदबहालीसमेत गरेका छन्।
हिजो सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले अधिकारी आगामी ५ वर्षका लागि गभर्नर नियुक्त गरेको थियो।
अर्थमन्त्री युवराज खतिवडाको संयोजकत्वमा गठित गर्भनर सिफारिस समितिले अधिकारीसहित बरिष्ठ डेपुटी गभर्नर चिन्तामणि शिवाकोटी र पूर्वसचिव केशव भट्टराईको नाम सिफारिस गरेको थियो । गत चैत १८ गते अर्थमन्त्री खतिवडाको समितिमा पूर्वगभर्नरका तर्फबाट विजयनाथ भट्टराई र पूर्वसचिव कृष्णहरि बास्कोटालाई राखेर गभर्नर सिफारिस समिति बनाएको थियो।
अधिकारी लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत थिए। अधिकारी सन् २०१० को डिसेम्बरमा डेपुटी गभर्नर नियुक्त भएका थिए। त्यहाँ पाँच वर्ष काम गरेर अवकाश भएपछि लगानी बोर्डको कार्यकारी अधिकृतमा नियुक्त भएका थिए।
अधिकारीसँग तीन दशक केन्द्रीय बैंकमा काम गरेको अनुभव छ। त्यसबेला उनले केन्द्रीय बैंकको विभिन्न विभागमा बसेर काम गरेका थिए। उनले वित्तीय ब्यवस्थापन, बैंकिङ अफिस, बैंक सुपरिवेक्षण, बैंक तथा वित्तीय संस्था नियमन विभागमा बसेर काम गरिसकेका छन्।
 
अधिकारी यसअघि पनि गभर्नरमा सिफारिसमा परेका थिए। उनीसँगै डा. चिरञ्जीवी नेपाल र गोपाल काफ्ले गभर्नरमा सिफारिस भएका थिए। तर नेपाललाई सरकारले गभर्नर बनाएको थियो।
‘बिजिनेस एड्मिनिस्ट्रेसन’ मा सन् १९८९ मा स्नातक अधिकारीले भारतबाट १९९३ मा चार्टर्ड एकाउन्टेन्टको डिग्री लिएका छन्।
                            
                            
                                                            
                                
                            
                                                        
                            
                            
                            
                            
                            
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19