काठमाण्डौ । नाडाले अटोमोबाइल क्षेत्रमा कार्यरत प्राविधिज्ञहरुको सीप तथा क्षमता विकासका लागि दीर्घकालीन प्रशिक्षण कार्यक्रमहरु सम्पन्न गर्दै जाने उद्देश्यले सीप तथा क्षमता विकास इकाइ गठन गरेको छ। 

नाडाले उपाध्यक्ष राजनबाबु श्रेष्ठको सभापतित्वमा ६ सदस्यीय इकाइ गठन गरेको हो। विद्युतीय सवारीसाधनको क्षेत्रमा कार्यरत प्राविधिकहरुको सीप र क्षमता अभिवृद्धि गर्ने उद्देश्यले नेपाल उद्योग वाणिज्य महासंघसमेतको सहयोगमा नाडाले जेठ २४ र २५ गते नाडा सचिवालयमा दुईदिने कार्यशाला गोष्ठी सम्पन्न गरेको छ। 

सुरुआती चरणको उक्त कार्यशाला गोष्ठीमा विद्युतीय सवारीसाधनहरु आयात गर्ने नाडाका सदस्य कम्पनीहरुबाट जम्मा ७ जना प्राविधिज्ञ सहभागी भएका थिए भने नेपाल उद्योग वाणिज्य महासंघका तर्फबाट महासंघका पाठयक्रम विकास विशेषज्ञ खेमराज काफ्लेले मुख्य प्रशिक्षकका रुपमा प्रशिक्षण दिएका थिए। 

विद्युतीय सवारीसाधनहरुको प्रयोग र महत्व दिन प्रतिदिन बढ्दै गएको परिप्रेक्षमा नाडाले पहिलोपटक त्यस किसिमको कार्यशाला गोष्ठी सम्पन्न गरेको हो। गोष्ठीमा महासंघअन्तर्गत रहेको ईएलएमएसका टिम लिडर चन्द्रकान्त अधिकारी र लेखा प्रमुख पर्शुराम नेपालको विशेष सहयोग रहेको थियो। 

गोष्ठीका लागि नाडाका उपाध्यक्ष, विद्युतीय सवारीसाधन समितिका सभापति र स्किल डेभलपमेन्ट इकाइका सभापति राजनबाबु श्रेष्ठले आवश्यक पहल गरेका थिए। यस किसिमको गोष्ठीबाट नाडाले विद्युतीय सवारीसाधनहरुको सम्बन्धमा आवश्यक सीप र ज्ञान अभिवृद्धि हुने अपेक्षा राखेको छ।

नाडाले महासंघसँगको सहयोगमा त्यस किसिमका प्राविधिक तालिम कार्यक्रमहरु सम्पन्न गर्दै जाने लक्ष्यसमेत लिएको छ। यसै क्रममा नाडाले अटोमोबाइल वर्कसपमा कार्यरत मेकानिक्सहरुको सीप र क्षमता अभिवृद्धिसम्बन्धी कार्यक्रम सञ्चालनका लागि स्विस सरकारको अन्तर्राष्ट्रिय गैरसरकारी संस्था हेल्भटासअन्तर्गत रहेको इनसियोरसँग पनि छिट्टै सम्झौता गर्र्ने तयारी गरिरहेको छ।