काठमाण्डौ । नाडा अटोमोवाइल एशोसिएसन अफ नेपालको अध्यक्षमा अन्ततः करण चौधरीले बाजी मारेका छन् । 

केहीबेरअघि भएको सहमतिअनुसार यो वर्षका लागि अध्यक्षको रुपमा करण चौधरीलाई स्वीकार गर्न अध्यक्षका अर्का प्रत्यासी आकाश गोल्छा सहमत भएका छन् । 

त्यसपछिको अवधिका लागि भने आकाश गोल्छा नाडाको अध्यक्ष हुनेछन् । 

नाडाको ४७ औं साधारणसभा आगामी पुस २० र २१ गते हुँदैछ । त्यसअघि नै सहमतिमा अध्यक्ष चुनिएको हो । 

यसका लागि सोमबार अटो व्यवसायीहरुको विशेष बैठक बसेको थियो । त्यसले अध्यक्षका लागि निर्वाचन गर्दा अस्वस्थ प्रतिस्पर्धा बढेको र अटो व्यवसायीबीच नै फाटोको अवस्था सिर्जना भएको भन्दै सहमतिमै अध्यक्ष चुनिनुपर्ने अजेण्डा पारित गरेको थियो । सोही अजेण्डालाई फाइनल गर्ने जिम्मा पूर्व अध्यक्षहरुको आज(मंगलबार)को बैठकलाई दिइएको थियो । पूर्वअध्यक्षसहितको वृहत बैठकले नाडाको आगामी कार्यकालको पहिलो वर्षको अध्यक्षमा करण चौधरीलाई चयन गर्ने सहमति बनाएको हो ।  

यस वर्षको नाडा अध्यक्षका लागि आफ्नो उम्मेद्वारीलाई समर्थन गर्ने सहयोगका लागि करण चौधरीले आकाश गोल्छालाई धन्यवाद ज्ञापन गरेका छन् । नाडा सदस्यहरुलाई एक सन्देश दिंदै उनले लेखेका छन्-'अहिलेको परिस्थितिलाई मध्यनजर गर्दै नाडाले एकीकृत कार्यसमिति गठन गर्नु अपरिहार्य छ । विद्यमान चुनौतिहरूले चुनावी प्रक्रिया मात्र नभई एकताको माग गर्दछ। हाम्रा सदस्यहरूको दिगोपन र समग्र रूपमा अटोमोटिभ ब्यवसायीका लागि हाम्रो सामूहिक शक्ति महत्वपूर्ण छ। मलाई विश्वास छ कि यो समाचारले उत्साह ल्याउँछ, र म यो रोजिएको बाटोमा लाग्दा प्रत्येक सदस्यको समर्थन खोज्छु। हाम्रा आदरणीय अग्रजहरूको आशीर्वाद र सबै सरोकारवालाहरूको समर्थनले, म नाडालाई अझ ठूलो उचाइमा लैजान प्रतिबद्ध छु। यस प्रयासमा तपाईंको समर्थन अमूल्य छ, र म हाम्रा सामु रहेका चुनौतीहरूलाई सम्बोधन गर्न सहयोगी रूपमा काम गर्न तत्पर छु।’

यसअघिको कार्यकालका लागि भएको चुनावमा पनि करण अध्यक्षका उम्मेद्वार थिए । सो बेला भने ध्रुव थापा अध्यक्षमा निर्वाचित भएका थिए ।