काठमाण्डौ । नाडा अटोमोवाइल एशोसिएसन अफ नेपालको आगामी कार्यकालका लागि सहमतिको अध्यक्ष चुनिइने भएको छ । 

यसका लागि मंगलबार ५ बजे नाडाका पूर्व अध्यक्षहरुको विशेष बैठक बस्दैछ । सोही बैठकले नाडाको आगामी कार्यकालका लागि सहमतिमै अध्यक्षको नाम फाइनल गर्ने स्रोतले बताएको छ । 

नाडाको ४७ औं साधारणसभा आगामी पुस २० र २१ गते हुँदैछ । त्यसअघि नै सहमतिमा अध्यक्ष चुनिन लागेको हो । 

यसका लागि सोमबार अटो व्यवसायीहरुको विशेष बैठक बसेको थियो । त्यसले अध्यक्षका लागि निर्वाचन गर्दा अस्वस्थ प्रतिस्पर्धा बढेको र अटो व्यवसायीबीच नै फाटोको अवस्था सिर्जना भएको भन्दै सहमतिमै अध्यक्ष चुनिनुपर्ने अजेण्डा पारित गरेको थियो । सोही अजेण्डालाई फाइनल गर्ने जिम्मा पूर्व अध्यक्षहरुको आज(मंगलबार)को बैठकलाई दिइएको हो । 

यसपटक नाडाको अध्यक्षका लागि सिजी होल्डिंग्सका करण चौधरी र जिओ अटोमोवाइल्सका आकाश गोल्छा मैदानमा छन् ।

उनीहरुमध्ये एकजनालाई सहमतिको अध्यक्ष बनाइनेछ । 

एक पूर्व अध्यक्षका अनुसार करण चौधरीले यसअघिको नाडा निर्वाचनमा हालका अध्यक्ष ध्रुव थापासँग हार व्यवहोरेका कारण सहमतिको अध्यक्षमा पहिलो प्राथमिकता उनैले पाउनेछन् । सम्भवतः अबको पहिलो कार्यकाल चौधरी नै नाडाको अध्यक्ष बन्ने निर्णय हुनसक्छ । त्यसपछि अर्को कार्यकाल आकाश गोल्छाले अध्यक्ष पाउने सम्भावना छ । 

अर्को कार्यकालमा अध्यक्ष बनाउनैका लागि नाडामा समेत उद्योग वाणिज्य महासंघमा जस्तो वरिष्ठ उपाध्यक्षको पद क्रियट गरिनेछ । वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष बन्ने विधानमै व्यवस्था गरिन लागेको छ । 

सहमतिमा अध्यक्ष छान्ने र त्यसरी छानिएको अध्यक्षलाई मान्ने विषयमा दुवै प्रतिस्पर्धी सहमत भइसकेका छन् । यसकारण समेत आजको बैठकलाई निर्णय लिन सहज छ ।