काठमाण्डौ । अटो व्यवसायीहरूको पाँच दशक पुरानो छाता संगठन नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा)को  निर्वाचन आगामी पुस २० र २१ गते  तय भएको छ। 

योसँगै आगामी कार्यकालको नेतृत्व कसले गर्नेछ भन्ने बिषयमा अहिले निकै चर्चा सुरु भएको छ।  

पछिलो समयमा अध्यक्षका आकाँक्षीहरूको रुपमा सुजुकी गाडीको आधिकारिक विक्रेता सीजी होल्डिङ्सका करण चौधरी र फोर्ड गाडीको आधिकारिक वितरक जिओ अटोमोबाइल्सका प्रबन्ध निर्देशक आकाश गोल्छाबीच प्रतिस्पर्धा हुने देखिएकोमा हाल वर्तमान कार्यसमितिका सदस्य प्रकाश कपुरीको उम्मेद्वारी घोषणाले यो दौड त्रिपक्षीय हुने देखिएको छ।  

यद्यपि करण चौधरी र आकाश गोल्छाले आधिकारिक रुपमा घोषणा भने गरिसकेका थिएनन् । 

उम्मेदवारी घोषणाको अन्योललाई हटाउन करण चौधरीले पनि औपचारिक रुपमा उम्मेदवारी घोषणा गरेका छन् । एक युवा अटो व्यवसायीको रुपमा परिचित चौधरीलाई  सिप्रदी ट्रेडिङका प्रमुख कार्यकारी अधिकृत (सीईओ) राजनबाबु श्रेष्ठ लगायतका अटो व्यवसायीहरुको साथ रहेको देखिएको छ।  

उम्मेद्वारी घोषणा गर्नु धेरै अगाडि नै निर्वाचनका लागि चाहिने आवश्यक गृहकार्य सुरु भइसकेको चौधरीले बताए। उनले नाडाको भावी अध्यक्षका लागि  सर्वसम्मतको प्रयास पनि जारी रहेको बताए। 

सर्वसम्मत नभए निर्वाचनको विकल्प नहुने, यदि त्यसो भएमा आफूलाई नेपालभरीका व्यवसायीहरुको साथ रहेको हुनाले  निर्वाचन पूर्ण रुपमा जित्ने  विश्वास चौधरीले व्यक्त गरेका छन्।