काठमाण्डौ । स्पर्श लघुवित्त वित्तीय संस्था लिमीटेड नाफामा जान थालेको छ । 

चालु आर्थिक वर्षको तेश्रो त्रैमाससम्म यो कम्पनीले  ६० लाख ३९ हजार रुपैयाँ खूद नाफा आर्जन गरेको हो । अघिल्लो वर्ष यही अवधिमा कम्पनी ५६ लाख १४ हजार खूद घाटामा थियो । 

अघिल्लो वर्ष यही अवधिमा ५६ लाख १४ हजार खूद संचालन घाटा व्यहोरेको कम्पनीले समीक्षा अवधिमा ८४ लाख ६७ हजार संचालन मुनाफा आर्जन गरेको छ । 

खूद ब्याज आम्दानीमा करिब ३८४ प्रतिशतको फड्को हान्दै कम्पनीले ४६ लाख ४२ हजारबाट बढाएर २ करोड २४ लाखको उचाई चुमाएको छ ।

समीक्षा अवधिमा स्पर्श लघुवित्तले १ करोड ३८ लाख निक्षेप संकलन गरी तथा ५९ करोड ९४ लाख सापटी लिई ७५ करोड ३८ लाख बढी कर्जा परिचालन गरेको छ । कम्पनीले अघिल्लो वर्षको यही अवधिको तुलनामा निक्षेपतर्फ २७८.०५, सापटीतर्फ २०८.५२ र कर्जातर्फ १८६.१७ प्रतिशतले फड्को मारेको देखिन्छ । 

अघिल्लो वर्ष ५५ लाखले घाटामा रहेको सञ्चित कोषमा ६२ लाख ५३ हजारले धनात्मक भएको छ भने खराब कर्जा केही बढेर ०.४६ प्रतिशत पुगेको छ । 

कम्पनीको वार्षिकीकृत प्रतिसेयर आम्दानी ९ रुपैयाँ ७१ पैसा र प्रतिसेयर नेटवर्थ १०७.५४ रुपैयाँ कायम भएको छ ।