काठमाण्डौ । सनराइज बैंक लिमीटेडको चालु आर्थिक वर्षको दोश्रो त्रैमासमा खूद नाफा घटेकोछ ।

बैंकले समीक्षा अवधिमा ५८ करोड ७५ लाख रुपैयाँ खूद नाफा आर्जन गरेको हो । अघिल्लो वर्ष यही अवधिमा बैंकको नाफा ६० करोड ९७ लाख थियो । 

समीक्षा अवधिमा बैंकले ६३ अर्ब २६ करोड निक्षेप संकलन गरी ५६ अर्ब २४ करोड कर्जा प्रवाह गरेको छ । अघिल्लो वर्ष यही अवधिमा बैंकले ५७ अर्ब ३० करोड निक्षेप संकलन गरी ४९ अर्ब २२ करोड कर्जा परिचालन गरेको छ । 

यो अवधिमा बैंकले व्यवसाय  बिस्तारमा ध्यान दिएका  कारण खूद ब्याज आम्दानी १ अर्ब १० करोडबाट बढेर १ अर्ब २७ करोडको उचाईमा पुगेको छ । अघिल्लो वर्ष ८२ करोड रहेको संचालन नाफा थोरै  बढी ८३ करोड पुगेको छ । 

समीक्षा अवधिमा बैंकले खराब कर्जा भने घटाउन सकेन । १.४९ प्रतिशत रहेको यस्तो कर्जा बढेर १.६५ प्रतिशत पुगेको छ ।

यस्तै, १ अर्ब ४५ करोड रुपैयाँमा सीमित रिजर्ब कोष थप मजबुत भई २ अर्ब १० करोडको उचाईमा पुगेको छ ।

सनराइज  बैंकको  वार्षिकीकृत प्रतिसेयर आम्दानी(इपीएस) पनि घटेकोछ । अघिल्लो वर्ष यही अवधिमा वार्षिकीकृत प्रतिसेयर आम्दानी २३ रुपैयाँ रहेकोमा घटेर १४.४१ रुपैयाँमा सीमित भएको हो ।

यो अवधिमा बैंकको प्रतिसेयर नेटवर्थ १२५.७७ रुपैयाँ  र मूल्य आम्दानी अनुपात १८.२५ गुणा कायम भएको छ । 

(यसअघिको समाचारमा भूलवश फरक तथ्य  पर्न गएकोमा क्षमा  चाहन्छौ-सम्पादक)