काठमाण्डौ । चालु आर्थिक वर्षको तेश्रो त्रैमासमा सिभिल बैंकले ४६ करोड ९१ लाख संभावित जोखिम  व्यवस्थापन कोषबाट फिर्ता ल्याएर ३५ करोड बढी खूद नाफा आर्जन भएको प्रगति विवरण सार्वजनिक गरेको छ । 

यो बैंकले खूद नाफातर्फ गत वर्षको सोही अवधिको तुलनामा १२७ प्रतिशतले छलाङ मारेको देखिएको हो । 

बैंकले ४४ करोड १७ लाख संभावित जोखिम व्यवस्थापन कोषमा राखेको छ । 

कुनै  बेला धराप बनिसकेको बैंकको रुपमा चिनिने सिभिलले आफूलाई क्रमशः सुधार गर्दै लगेको उसको तेश्रो त्रैमासको रिपोर्टले देखाउँछ, जहाँ अधिकांश मुख्य सूचकमा उत्साहप्रद सुधार भएको छ ।

समीक्षा अवधिमा बैंकले ८९ करोड २८ लाख खूद ब्याज आम्दानी गरेको छ । अघिल्लो वर्ष यस्तो आम्दानी ७३ करोड ३५ लाख रुपैयाँ रहेको थियो । 

बैंकले सबैभन्दा धेरै सुधार संचालन मुनाफामा गरेको छ । अघिल्लो वर्षको तेश्रो त्रैमाससम्म ३ करोडमा सीमित संचालन मुनाफामा  कमालको प्रगति गर्दै १७ करोड ४६ लाखको उचाईमा पुर्याएको छ । 

यो अवधिमा बैंकले अघिल्लो आबको यही अवधिको तुलनामा निक्षेप संकलनतर्फ ९.१५ प्रतिशत र कर्जा परिचालनमा १७.१७ प्रतिशतको प्रगति गरेको छ । अघिल्लो वर्ष ३३ अर्ब ८१ करोड निक्षेप संकलन गरी २९ अर्ब ८० करोड कर्जा परिचालन गरेको बैंकले यो वर्ष ३६ अर्ब ९० करोड निक्षेप संकलन गरी ३४ अर्ब ९२ करोड कर्जा परिचालन गरेको हो ।

अघिल्लो वर्ष १ अर्ब ३१ करोडमा सीमित रिजर्बकोषको आकार बढाई १ अर्ब ९० करोड बनाएको बैंकले खराब कर्जा असूलीमा विशेष सफलता पाएको देखिएको छ । यहीकारण अघिल्लो वर्ष ४.६६ प्रतिशतको अनुपातमा रहेको यस्तो कर्जा समीक्षा अवधिमा ३.७४ प्रतिशतमा सीमित पार्न व्यवस्थापन सफल भएको छ । यसरी एनपिएलमा बैंकले करिब २० प्रतिशतको सुधार गर्न सकेको देखिएको छ । अघिल्लो त्रैमासमा एनपिएल४.५२ प्रतिशतको अनुपातमा रहेको थियो ।

समीक्षा अवधिमा बैंकले ३ अर्ब बढी ब्याज आम्दानी गरे पनि २ अर्ब १९ करोड बढी ब्याज खर्च हुँदा अझै नाफा बढ्ने संभावना टरेको हो ।

समीक्षा अवधिमा बैंकको इक्वीटीमा प्रतिफल ६.५४ प्रतिशत पुगेको छ । अघिल्लो वर्ष यस्तो प्रतिफल ३.५१ प्रतिशतमा सीमित थियो ।