काठमाण्डौ । बुटवलमा मुख्य कार्यालय रहेको चौतारी लघुवित्तले आर्थिक वर्ष २०७४/७५ को चौथो त्रैमाससम्म कमालको प्रगति गरेको छ । यो कम्पनीले अघिल्लो वर्षको सोही अवधिको तुलनामा खूद नाफातर्फ ७८.२८ प्रतिशतको छलांग मारेको हो । 

अघिल्लो वर्ष यही अवधिमा यो कम्पनीले ५७ लाख ६० हजार खूद नाफा आर्जन गरेकोमा बढेर समीक्षा अवधिसम्म १ करोड २ लाखको उचाईमा पुगेको हो । 

यो माइक्रोफाइनान्स कम्पनीले यो अवधिमा २२ करोड ३४ लाख निक्षेप संकलन गरी तथा ४४ करोड ३४ लाख सापटी लिई ७७ करोड ५५ लाख कर्जा परिचालन गरेको छ । अघिल्लो वर्ष यही अवधिमा ८ करोड ९२ लाख निक्षेप संकलन तथा २१ करोड २१ लाख सापटी लिई ३८ करोड १२ लाख कर्जा परिचालन गरेको थियो । 

कम्पनीको खूद ब्याज आम्दानीमा पनि उस्तै प्रगति भएको छ । अघिल्लो वर्ष २ करोड ६६ लाख रहेको यस्तो आम्दानी बढेर यो वर्ष ५ करोड १४ लाखको उचाईमा पुगेको हो । तर, संचालन मुनाफा भने घटेको छ । अघिल्लो वर्ष यही अवधिमा ९२ लाख रुपैयाँ यस्तो नाफा घटेर ६२ लाखमा सीमित बन्न पुगेको हो । 

यो माइक्रोफाइनान्स कम्पनीमा खराब कर्जा भने बढेको छ । अघिल्लो वर्ष यही अवधिमा ०.१४ प्रतिशत रहेको यस्तो कर्जा बढेर ०.४८ प्रतिशत पुगेको हो । 

समीक्षा अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी(इपीएस) ८.१५ रुपैयाँ र प्रतिसेयर नेटवर्थ १११.८५ रुपैयाँ कायम भएको छ । अघिल्लो वर्ष यही अवधिमा इपीएस २७.४३ रुपैयाँ र प्रतिसेयर नेटवर्थ ५६५.२२ रुपैयाँ रहेको थियो । 

चुक्तापूँजीमा भएको ५ सय प्रतिशतको वृद्धि, तर सो अनुसार नाफा नबढ्दा इपीएसमा यति ठूलो पहिरो गएको हो ।