काठमाण्डौ । गरिमा विकास  बैंकले चालु आर्थिक वर्षको तेश्रो त्रैमासमा अघिल्लो वर्षको सोही अवधिको तुलनामा खूद नाफामा १३.२८ प्रतिशतको वृद्धि गरे पनि प्रतिसेयर आम्दानी(इपीएस)मा भने पहिरो व्यहोरेको छ । 

अघिल्लो वर्ष १ अर्ब २९ करोड रहेको चुक्तापूँजी बढेर यो वर्ष २ अर्ब ५३ करोड पुगेको छ । यसरी चुक्तापूँजीमा ९५.५० प्रतिशतको वृद्धि भए पनि सोअनुसार नाफा बढाउन नसक्दा २५.५६ रुपैयाँ रहेको इपीएस घटेर १४.८१ रुपैयाँमा सीमित बन्न पुगेको हो ।

बैंकको निस्क्रिय कर्जा अनुपात(एनपिएल) समेत बढेको  छ । अघिल्लो वर्ष यही अवधिमा ०.७४ प्रतिशत रहेको यस्तो कर्जा  अनुपात बढेर ०.७८ प्रतिशत पुगेको हो । 

बैंकले यो अवधिमा १८ अर्ब ६३ करोड निक्षेप संकलन गरी १७ अर्ब १० करोड कर्जा परिचालन गरेको छ । अघिल्लो वर्ष बैंकले १३ अर्ब ३९ करोड निक्षेप संकलन गरी १२ अर्ब ९ करोड कर्जा परिचालन गरेको थियो ।

बैंकले ३८ करोड ७६ लाखमा सीमित संचालन मुनाफामा वृद्धि गरी ४३ करोड ६९ लाखको उचाईमा पुर्याएको छ भने ४६ करोड ८९ लाखमा सीमित रिजर्ब कोषलाई थप बलियो बनाई  ५७ करोडको उचाईमा पुर्याएको छ ।

व्यवसाय बिस्तारमा ध्यान दिएका कारण ५४ करोड ३७ लाखमा सीमित खूद ब्याज आम्दानी बढेर ७० करोडको हाराहारीमा पुगेको छ ।

समीक्षा अवधिमा यो बैंकको प्रतिसेयर नेटवर्थ १२२.५२ रुपैयाँ र मूल्य आम्दानी अनुपात १२.९६ गुणा कायम भएको छ ।