काठमाण्डौ । चुक्तापूँजीमा भएको बढोत्तरी अनुसार खूद नाफा बढ्न नसक्दा स्वरोजगार लघुवित्तको वार्षिकीकृत प्रतिसेयर आम्दानीमा गिरावट आएको छ । 

चालु आर्थिक वर्षको पहिलो त्रैमासमा यो कम्पनीको चुक्तापूँजी अघिल्लो वर्षको सोही अवधिको तुलनामा १५६ प्रतिशतको हाराहारीमा वृद्धि भए पनि खूद नाफामा भने ३२ प्रतिशतले मात्र बढोत्तरी हुँदा प्रतिसेयर आम्दानी ४८.३७ प्रतिशतले घटेको हो । 

अघिल्लो वर्ष यही अवधिमा यो लघुवित्तको वार्षिकीकृत प्रतिसेयर आम्दानी २८.९३ रुपैयाँ रहेकोमा घटेर १४.९४ रुपैयाँमा सीमित बन्न पुगेको हो । 

यो कम्पनीको खूद नाफा ३२ प्रतिशतले वृद्धि भई १ करोडको उचाईमा पुगेको छ।

व्यवसाय बिस्तारमा ध्यान दिएका कारण यो कम्पनीको खूद ब्याज आम्दानी पनि बढेको छ । अघिल्लो वर्ष यही अवधिसम्म २ करोड ६९ लाख रहेको यस्तो आम्दानी बढेर यो वर्ष ४ करोड २५ लाखको उचाईमा पुगेको छ। 

समीक्षा अवधिमा यो लघुवित्तले ८७ करोड २८ लाख निक्षेप संकलन गरी तथा १ अर्ब ३१ करोड सापटी लिई २ अर्ब २९ करोड बढी कर्जा परिचालन गरेको छ । अघिल्लो वर्ष ५३ करोड २३ लाख निक्षेप संकलन गरी तथा ९७ करोड ५१ लाख सापटी लिई १ अर्ब ४९ करोड बढी कर्जा परिचालन गरेको छ । 

यो कम्पनीको रिजर्ब भने खिइएको छ । अघिल्लो वर्ष  ५ करोड ७६ लाख रहेको रिजर्बकोष खिइएर ४ करोड ९७ लाखमा सीमित बन्न पुगेको छ । 

समीक्षा अवधिमा यो कम्पनीको खराब कर्जाको अनुपात बढेको छ । अघिल्लो वर्ष ०.१९ प्रतिशत रहेको यस्तो कर्जा बढेर ०.५१ प्रतिशत पुगेको छ । 
कम्पनीको प्रतिसेयर नेटवर्थ ११८.५२ रुपैयाँ र मूल्य आम्दानी अनुपात ४३.१७ गुणा कायम भएको छ ।