काठमाण्डौ । जनकपुरमा मुख्य कार्यालय रहेको जानकी फाइनान्सले आर्थिक वर्ष २०७३/७४ मा कमालको प्रगति गरेको छ । 

अघिल्लो वर्ष ४ करोड ३८ लाख मात्र खूद नाफा आर्जन गरेको यो फाइनान्सले आब २०७३/७४ मा ११ करोड ८३ लाख नाफा आर्जन गर्ने सफलता प्राप्त गरेको हो । 

नाफासँगै फाइनान्सको रिजर्बमा समेत चमात्कारिक वृद्धि भएको छ । अघिल्लो वर्षसम्म १० करोड ८९ लाखमा सीमित रिजर्ब बढेर यो वर्ष २९ करोड ४९ लाखको उचाईमा पुुगेको हो । 

व्यवसाय वृद्धिमा आक्रामक नीति लिएको यो फाइनान्सले १५ करोड ७३ लाख खूद ब्याज आम्दानी गरेको छ । अघिल्लो वर्ष यस्तो आम्दानी ९ करोड १४ लाखमा सीमित थियो । 

यो अवधिमा फाइनान्सले १ अर्ब ३९ करोड निक्षेप संकलन गरी १ अर्ब ३९ करोड नै कर्जा प्रवाह गरेको छ । अघिल्लो वर्ष १ अर्ब ४३ करोड निक्षेप संकलन गरी १ अर्ब १९ करोड कर्जा परिचालन गरेको थियो । 

अघिल्लो वर्ष २ करोड २० लाखमा सीमित संचालन मुनाफा यो वर्ष १० करोडको उचाईमा पुुगेको छ । 

अघिल्लो वर्ष ७.३० प्रतिशतमा रहेको लागत खर्च यो वर्ष ९.२८ प्रतिशतको उचाईमा पुुगे पनि खूद नाफा, ब्याज आम्दानी, संचालन मुनाफा र रिजर्बमा भएको वृद्धिलाई कमालको प्रगति मान्न सकिन्छ । 

यो अवधिमा यो फाइनान्सको प्रति सेयर आम्दानी ३४.६१ रुपैयाँ, प्रति सेयर नेटवर्थ १८६.२६ रुपैयाँ, प्रति सेयर कुल सम्पत्तिको मूल्य ६१२.५६ रुपैयाँ र मूल्य आम्दानी अनुपात ७.७७ गुणा कायम भएको छ ।